पोखरा, २४ चैत – गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको आयोजनामा अन्तर जिल्ला सुरक्षा समन्वय बैठक बुधबार बागलुङमा भएको छ ।
वार्षिक कार्यक्रम अनुसार चैत २० गते ७ जिल्लाको बैठक तनहुँमा भएको र बाँकी ४ जिल्लाको बैठक बागलुङमा गरिएको आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरु बागलुङका रमेश ढकाल, मुस्ताङ नेत्रप्रसाद शर्मा, पर्वतका नारायणप्रसाद सापकोटा, म्याग्दीका चिरञ्जीवी रानाले जिल्लाको समग्र सुरक्षा अवस्था, स्थानीय तहसँगको समन्वय, प्रदेश सरकारसँगको अपेक्षाका बारेमा प्रस्तुती राखेका थिए ।
यस अघि चैत २० मा तनहुँको आँबु खैरेनीमा तनहुँ, गोरखा, कास्की, लमजुङ, मनाङ, स्याङ्जा र नवलपुरको बैठक भएको थियो ।
बैठकको प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरे । उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शासन व्यवस्था अनुसार प्रहरीको भूमिका फरक हुने भन्दै दक्षता र योग्यता अनि अनुभव तिखार्दै मैदानमा उत्रनुपर्ने भनाइ राखे ।
प्रहरीलाई स्रोत साधनयुक्त बनाउन राज्य संयन्त्र उदार हुन नसकिएको स्वीकार गर्दै उनले उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरे नागरिकलाई सेवा प्रदान गर्न निर्देशन दिए ।
आन्तरिक मामिला मन्त्री डोवाटे विकले विपद व्यवस्थापन र सुरक्षा संयन्त्र चुस्त बनाउन प्रदेश सरकार क्रियाशील रहेको भनाए राखे । जिल्ला प्रशासनले प्रदेशमा समेत विपदका घटनाका बारेमा जानकारी गराइदिन उनले आग्रह गरे ।
कार्यक्रममा प्रमुख सचिव रविलाल पन्थले प्रहरीको संख्या बढाएर मात्र शान्ति सुरक्षा कायम हुने होइन भन्दै निगरानी र अनुसन्धान बढाउन नागरिकले अनुभूति गर्ने गरी काम गर्न सकिने उनको भनाइ थियो ।
मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोलाले सुरक्षा व्यवस्था चुस्त पार्दै अमनचयन कायम गर्नु राज्यको पहिलो दायित्व रहेको बताए । नेपाली सेनाको श्री नम्बर २३ वाहिनी मुस्ताङका वाहिनीपति सहायक रथी रामप्रसादले सुरक्षा संवेदनशीलतको आँकलन गर्दै नेपाली सेनाले रणनीति बनाइरहेको बताए ।
राष्ट्रिय अनुसन्धान गण्डकी प्रदेश प्रमुख कुलदेव थापाले नजिकिँदो चुनावमा अस्वस्थ राजनीतिक प्रतिस्पर्धा नै मुख्य चुनौती रहेको बताए । चीनको सीमाबाट हुने अवैध क्रियाकलाप, नदीजन्य पदार्थको उत्खनन्, प्राकृतिक दोहन, चोरी निकासी पनि अर्को चुनौती रहेकाले त्यसै अनुसार अगाडि बढ्नुपर्ने बताए ।
सशस्त्र प्रहरी बल मुक्तिनाथ वाहिनीका वाहिनीपति डिआइजी शम्भु रेग्मीले भौतिक पूर्वाधारको कमीकै कारण धेरै जिल्ला सशस्त्र प्रहरीहरु अरु कार्यालयका पुराना भवनमा बस्नु परेको बताए । बागलुङको गुल्मका सुरक्षाकर्मी तरकारीको टनेलमा समेत रात विताउन बाध्य रहेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
नेपाल प्रहरीका गण्डकी प्रदेश प्रमुख डिआइजी दिवेश लोहनीले समायोजन ऐन आएर पनि कार्यान्वयन नभएर बीचको अवस्थामा काम गर्न केही असहज भएको बताए ।