१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026
बागलुङमा चैते दशैं मेला सुरु

‘चैते दशैं बागलुङको मेलैमा-लाइदेउ माया भेटभाको बेलैमा’


जनमञ्च संवाददाता
  • २५ चैत्र २०७८ , शुक्रबार

  • ‘चैते दशैं बागलुङको मेलैमा-लाइदेउ माया भेटभाको बेलैमा’

    बागलुङ, २५ चैत – चैते दशैं बागलुङको मेलैमा, लाइदेउ माया भेटभाको बेलैमा ! यस्तै मौलिक र चर्चित भाखाको गीत बागलुङमा लाग्ने चैते दशैं मेलालाई लक्षित गरेर बनेका हुन् । चैत शुक्ल पक्षमा मनाइने चैते दशैं पर्व र योसँगै बागलुङमा मेला लाग्ने चलन ५ सय वर्ष पुरानो हो । यो वर्षपनि चैते दसैंको अवसरमा मेला सुरु भएको छ ।

    कोरोना संक्रमणका कारण दुई वर्षसम्म मेला भएको थिएन । यो वर्ष भने संक्रमण नभएको मौका परेकोले कालिका भगवती गुठी व्यवस्थापन समितिले चैते दशैं मेला सुरु गरेको छ । बिहीबार गण्डकी प्रदेशका कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर बुढाले मेलाको उद्घाटन गरे । उनले चैते दशैं मेला धार्मिक महत्वको मात्र नभई गीत संगीत, खेलकुद र किसानका उत्पादनको बजारीकरण गर्ने पर्वको रुपमा स्थापित भएको बताए ।

    चैते दशैंमा किसानले उत्पादन गरेका कृषि उपज, हस्तकलाका सामान र अन्य सामाग्री समेतको बजारीकरण गर्ने पर्वको रुपमा समेत वर्षौंदेखि मनाइएको छ । चैते दशैं मेला कालिका मन्दिरमा लाग्छ । दुर्गा तिथिमा लाग्ने मेलालाई चैते दशैंको रुपमा मनाइन्छ । यो बेला टाटाबाट घर फर्कनेदेखि कालिका मन्दिरमा पूजा गर्न आउनेहरु धेरै हुन्छन् । साथै यहाँको मेलामा बागलुङका कला संस्कृतिको संरक्षण, परम्परागत सिपका सामानको बिक्री र बजारीकरणसमेत गरिन्छ ।

    समितिले मेलाकै स्वरुप बनाइदिएपछि यहाँ रमाइलो मेला, फेन्सी तथा अन्य उत्पादनहरुको बजार लागेको छ । कालिका मन्दिर परिसरमा तीनचार दिनदेखिनै मेलाझैं बनिरहेको छ । साथै चैतेदशैंको अवसरमा अष्ठमी र रामनवमीमा यहाँ विशेष पूजा र मेला भर्नेको रौनक हुन्छ । यो मेलालाई व्यवस्थापन गर्न प्रशासन र प्रहरीले पनि आफ्नो सक्रियता बढाएको छ । गुठीले आयोजना गरेको खुला भलिबल प्रतियोगितामा भाग लिन विभिन्न स्थानबाट १७ टिम दर्ता भएका छन् । बिहीबारदेखि नै खेलहरु पनि सुरु भएका छन् ।

    त्यस्तै राष्ट्रिय र स्थानीय कलाकारले आफ्नो प्रस्तुतिकरण गर्ने कार्यक्रमसमेत बनेको छ । बिहानी समयमा पूजा र भलिबल प्रतियोगिता, दिउँसो मेला र साँझ कलाकारहरुको प्रस्तुती रहने गुठीका अध्यक्ष कुमार खड्काले बताए ।

    कार्यक्रमलाई गुठीले पछिल्लो १० वर्षदेखि लगातार गर्दै आएको थियो । कोरोनाका कारण गतवर्ष मेला सञ्चालन भएको थिएन । चैतेदशैं मेलामा १० लाख भक्तजन र पर्यटक आउने अनुमान छ । अघिल्ला वर्षहरुमा यहाँ बिक्री भएको नरिवलको संख्या र सोही अनुपातमा आउने भत्तजनको मूल्यांकन गर्दा १० लाख पर्यटक आएको अनुमान गर्न सकिने गुठीका पूर्वअध्यक्ष राजु खड्काले बताए ।

    पर्वतका राजा प्रतापी नारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजोको रुपमा कालिका मुर्ती ल्याएको इतिहास छ । राजाले उक्त मुर्ती घना जंगलको बीचमा यहाँ ल्याएर स्थापित गरेपछि पूजा गर्ने चलन बसेको किंवदन्ती छ । अहिले पनि यहाँ चैतेदशैं र बडा दशंैमा ठूलो मेला लाग्छ भने अन्य समयमा पनि सयौं भक्तजन आएर पूजा गर्ने क्रम रोकिएको छैन ।

    बागलुङको पर्यटक प्रवद्र्धनका लागि पनि यो मेला र कालिका मन्दिर महत्वपूर्ण गन्तव्य भएको पर्यटन समितिका सचिव अर्जुन चोखालले बताए । पछिल्लो समयमा अन्य गन्तव्य शुरु भएपनि बागलुङको पहिचान चैतेदशैं मेला र कालिका भगवती मन्दिर नै भएको उनको तर्क छ । स्थानीयले पनि कालिका मन्दिरमा लाग्ने मेलाको महत्व र यसले जिल्लाकै पर्यटनमा योगदान पुगेको बताउँछन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend