बागलुङ, २५ चैत – नेकपा एमालेले काठेखोला गाउँपालिका–२ भीमापोखरामा विद्यापति शर्मालाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
शनिबार आयोजित वडा कमिटीको बैठकले हालका वडा अध्यक्ष समेत रहेका शर्मालाई पुनः सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
शर्मा नेकपा एमाले काठेखोला गाउँ कमिटीका सचिव हुन् । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनबाट भीमापोखरामा वडाअध्यक्षमा निर्वाचित भएका थिए ।
वडा अध्यक्षको लागि ११ जनाले आकांक्षा व्यक्त गरेपनि शर्मालाई सर्वसम्मत चयन गरिएको वडा कमिटीका अध्यक्ष नारायणदत्त रेग्मीले बताए । वडा सदस्य पदमा १२ जनाको आकांक्षा रहेकोले सर्वसम्मतको लागि छलफल भइरहेको छ ।
भेलामा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य डिल्लीराज गौतमले स्थानीय तहको सम्वृद्धि र विकासको लागि नेकपा एमाललेलाई विजयी गराउनुपर्ने बताए ।
सो अवसरमा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य हरिनारायण गौतमले सुखी नेपाली, समृद्ध नेपालको आकांक्षालाई पुरा गर्न स्थानीय तहमा एमालेलाई जिताउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै विद्यापति शर्माको नेतृत्वमा रहेको टीमले भीमापोखराको विकास, समृद्धि र विभेद अन्त्यका लागि काम गर्नुपर्ने वताए ।
सो अवसरमा अनेम संघका केन्द्रिय सदस्य गंगा कुमारी शर्मा, जिल्ला कमिटी सचिवावलय सदस्य एवं काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, काठेखोला गाउँकमिटीका सचिव एवं वडाअध्यक्ष विद्यापति शर्मा, जिल्ला कमिटी सदस्य प्रेम बहादुर केसी, खिम बहादुर कार्की, नेपाल राष्ट्रिय शिक्षक संगठन काठेखोला गाउँ कमिटीका सचिव विक्रम शर्मा लगायतले वोलेका थिए।
वडा कमिटीका अध्यक्ष नारायणदत्त रेग्मीको अध्यक्षतामा सम्पन्न भएको भेलाको स्वागत उपसचिव भिम किसान र संचालन सचिव ऋषिराम शर्माले गरेका थिए ।
त्यस्तै एमालेले काठेखोला गाउँपालिका–५ बिहुँबाट हेमबहादुर खत्रीलाई सर्वसम्म्त उम्मेदवार बनाउने निर्णय गरेको छ । वडा कमिटीको वैठकले अध्यक्षमा खत्री र सदस्यमा प्रेम पुनलाई सिफारिस गरेको हो । अन्य पद भने स्थानीय आवश्यकताका आधारमा तालमेल गर्नका लागि राखिएको छ ।
एमालेले बडिगाड गाउँपालिका–४ बाट प्रेम गलामीको नाम सर्वसम्मत सिफारिस गरेको पार्टी जिल्ला सचिव बिष्णु भुसालले जानकारी दिए । धेरै वडामा सर्वसम्मतका लागि छलफल भइरहेको एमालेले जनाएको छ ।