लमजुङ, २५ चैत – बेंसीसहरमा सातौं लमजुङ महोत्सव २०७८ सुरु भएको छ । सहजी खेलमैदान त्रिवेणी रंगशालामा शुक्रबारदेखि सुरु भएको महोत्सव वैशाख ४ सम्म चल्नेछ ।
कोरोना संक्रमण जोखिम कम हुँदै गएपछि लमजुङ उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गरेको हो । महोत्सवअघि बेंसीसहरको शेराबजारदेखि नारायणस्थान चोक हुँदै मनाङे चौतारा भएर सहजीसम्म विभिन्न झाँकी तथा र्याली निकालिएको थियो ।
महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निजी क्षेत्रको सहयोगबिना विकास असम्भव रहेको बताए । उनले विकास र समृद्धिका लागि निजी क्षेत्रको समन्वय र सहयोग अपरिहार्य रहेको जनाए । प्रदेश सरकारले पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको उनको भनाइ थियो ।
‘कोरोनाले पर्यटन व्यवसाय थलिएको अवस्थामा महोत्सव हुनु राम्रो हो’ उनले भने, ‘यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्छ ।’ यसअघि संघले २०७५ फागुन अन्तिम साता छैटौं लमजुङ महोत्सव आयोजना गरेको थियो । संघले प्रत्येक २/२ वर्षमा आयोजना गर्दै आएको महोत्सव कोरोना संक्रमण फैलिएपछिको जटिल परिस्थितिका कारण आयोजना गर्न सकेको थिएन ।
संघका अध्यक्ष गुणराज सिलवालले व्यवसायलाई चलायमान बनाउन र स्थानीय कला संस्कृतिको संरक्षण गर्न महोत्सव आयोजना गरिएको बताए । ‘स्थानीय उत्पादन, संस्कृति तथा पर्यटन, कोभिडपछिको व्यवसाय पुनःस्थापना’ भन्ने नाराका साथ महोत्सव आयोजना गरिएको उनले बताए ।
महोत्सवले जिल्लाको आर्थिक विकासमा टेवा पुग्ने साथै परम्परागत कला संस्कृतिको जगेर्ना, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, जलविद्युतलगायत क्षेत्रमा लगानीमैत्री वतावरण निर्माण गर्ने उद्देश्य लिइएको छ । महोत्सवले अल्लो, अलैची, चिया, कफी, सुन्तला, मह प्रवर्द्धन गर्न सहयोग मिल्ने उनले बताए ।
महोत्सवले होमस्टेलाई प्रवर्द्धन गर्ने, स्थानीय साथै प्रदेशस्तरका उद्योग, व्यापार, हस्तकलाको प्रवर्द्धन गर्ने, स्थानीय, परम्परागत सीप र प्रविधिको प्रवर्द्धन गर्ने, स्थानीय प्रतिभाको प्रस्फुटन गर्ने, स्थानीय मौलिक कला, संस्कृति, साहित्य, गीत संगीतको जगेर्ना गर्ने आयोजकले जनाएको छ । महोत्सवमा १ सय ७० वटा स्टल राखिएका छन् ।