१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

यी हुन् गुरुकुल शिक्षा पढेका बागलुङकै जेठा वकिल


जनमञ्च संवाददाता
  • १ बैशाख २०७९ , बिहिबार

  • यी हुन् गुरुकुल शिक्षा पढेका बागलुङकै जेठा वकिल

    बागलुङ, १ बैशाख – बागलुङमा विद्यालय खुल्नुअघि भाषा पाठशाला थियो । बागलुङ नगरपालिका-३ का ९२ वर्षीय तेजराज उपाध्यायले पनि गुरुकुल शिक्षा लिए । उक्त पाठशालामा पण्डित जगन्नाथ र हरिनन्दन उपाध्यायले संस्कृत पढाउँथे ।

    संस्कृतसँगै स्रेस्ता शिक्षा पढाइन्थ्यो । तेजराजले पनि स्रेस्ता शिक्षा सिके । त्यसले उनलाई मातपोत, प्रशासनमा काम गर्न सक्ने बनायो । भाषा र स्रेस्ता पढेकै कारण २००३ सालमा उनलाई बागलुङमा स्थापना भएको इलाका अदालतमा तहबिलदारको जागिर मिल्यो ।

    ‘तहबिलदार भनेको हाकिमको लेखा प्रणाली हेर्ने कर्मचारी हो, मैले त्यो काम पाएँ,’ उपाध्यायले भने, ‘स्रेस्ता पढेको र हाकिमको नजिक बनेर काम गर्दा कानुनी ज्ञान र फैसला लेख्न सक्ने भएँ ।’ सरकारले तोकेर पठाएको हाकिम नै अदालतको न्यायाधीश हुने उनले बताए ।

    सबै जिल्लामा अदालत स्थापना भने २०२२ सालमा मात्र भएको वरिष्ठ अधिवक्ता पद्मनाथ शर्माले बताए । त्यसअघि इलाकास्तरका अदालत मात्र थिए । बागलुङमा रहेको इलाका अदालतले ८ जिल्ला हेर्थ्यो ।

    चार पास गरेका डिठ्ठा र बिचारीले मुद्दा लेख्थे । उनीहरूले कक्षा चार पुग्दा स्रेस्ता र भाषा पढेका हुन्थे । अदालतमा बहस गर्न नपाउने भएपछि धर्म भाक्थे । ‘श्रीमान् जनै साक्षी राखेर भन्छु, यो कुरा साँचो हो’ भनेपछि न्यायाधीशले आफ्नै तजबिजले न्याय दिने तेजराजले बताए ।

    धर्म सम्झेर गरिने वाचालाई न्यायाधीशले साँचो हो भनेर बुझ्ने चलन थियो । राम्रो बहस नहुने र तथ्य प्रमाणबिना फैसला गर्दा पीडित अन्यायमा पर्ने धेरै जोखिम थियो । उनलाई पनि भाषा र स्रेस्ता पढेकै कारण सरकारले कानुन सेवामा स्थायी बनायो । जागिरकै क्रममा उपाध्यायले सरकारी शिक्षा पनि पढेको बताए ।

    उनले अहिलेको जस्तो कानुन संकाय पढेका भने होइनन् । लगातार ४० वर्ष अदालतमा जागिर गर्दा न्यायाधीश र वकिल जत्तिकै बहस गर्न सक्ने, फैसला लेख्न सक्ने र कानुनका ज्ञातासमेत भए । २०४३ सालमा पेन्सन निस्केपछि उनलाई यो पेसा छाड्न मन लागेन । त्यसपछि उनले वकिल बन्ने चाहना राखे । बारको सदस्यता पाए ।

    अधिवक्ताको लाइसेन्स लिएर अदालतमा बहस गर्न थाले । कानुनमा स्नातक गरेकाले अधिवत्ता र कामको अनुभव भएका तथा स्नातक नभएकालाई अभिवक्ताको लाइसेन्स दिने चलन थियो । सोहीअनुसार उनले पाएका थिए ।

    तमसुक लेख्न पनि उनको घरमा लाइन लागेर पुग्ने गरेको स्थानीय देवबहादुर श्रेष्ठले बताए । जिल्लाका १ सय ७ जना कानुन व्यवसायीमा उनी सबैभन्दा जेठो हुन् । केही समयदेखि आँखा र कानले भर पाउन छाडेपछि उनले पेसा छाडेका छन् । तर पनि उनले अधिवक्ताको लाइसेन्स भने नवीकरण गरिरहेका छन् ।

    उनलाई बहस र फैसला लेखनबारे बढी ज्ञान थियो भन्छन्, वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा । ‘नाताले मेरो साइँलो बुबा हो, हामीलाई कानुन क्षेत्रमा लाग्न प्रेरणा पनि दिनुहुन्थ्यो,’ शर्माले भने, ‘गुरुकुलमा पढेर कानुन व्यवसायीसम्म बन्ने उहाँ बहुप्रतिभाशाली व्यक्ति हो ।’

    गुरुकुलबाट कानुन व्यवसायी बनेका नेपालमै एकादुई मात्र भएको उनले बताए । काममा लगनशील भएकै कारण उपाध्याय तहबिलदारबाट बहिदार, बिचारी, डिठ्ठा हुँदै सुब्बा पदमा पुगेर निवृत्त भएका थिए । ‘कानुन र वकालत पेसा धेरै मन पर्थ्यो, त्यसैले बुढ्यौलीमा पनि पेसा रोजें,’ उपाध्यायले भने ।

    बागलुङमा अदालत नहुँदा पाल्पाको गौंडाका रूपमा प्रशासन र अदालत चल्थ्यो । त्यति बेलादेखि नै उनले काम गरेका थिए । महिनौंपछि आउने पत्रअनुसार काम गर्नुपर्थ्यो । तर पनि उनले हाकिमको आदेशअनुसारका पत्र तयार गर्ने काम गर्थे । अक्षर राम्रो, हिसाब किताब जान्ने र स्रेस्ता प्रणालीबारे जानकार भएकाले उनले जागिरमा हाकिमकै नजिक भएर काम गर्न पाए ।

    ४० वर्षे जागिरे अवधिमा उनले छिमेकी पर्वत, म्याग्दी र बागलुङमा मात्रै बस्ने मौका पाए । ‘वर्षमा एक पटक राजधानी जानुपर्थ्यो, अरू बेला यहीं बसेर काम गरें,’ उनले भने, ‘प्रथम र मध्यमा परीक्षा पास गरेका मानिस भेटिँदा सरकारले खोजेर जागिर दिन्थ्यो ।’ गुरुकुलमा उनले मध्यमा पास गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend