मुस्ताङ, २ बैशाख – हिमाली जिल्ला मुस्ताङमा संघीय तथा प्रदेश मातहतका कार्यालयहरूको पुँजिगत खर्च न्यून रहेको छ। जिल्ला स्थित ३० वटा संघीय सरकारी कार्यालय र प्रदेशतर्फका १४ वटा सरकारी कार्यालयहरूले चालु वर्ष २०७८/०७९ को तेश्रो त्रैमासिकसम्म आइपुग्दा अपेक्षा गरे अनुरुपको खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले जनाएको छ।
चालु आर्थिक वर्षका लागि संघीयतर्फको कुल वार्षिक बजेट २ अर्ब ५ करोड २४ लाख रहेकोमा चालु वर्षको चैत्र मसान्तसम्ममा चालुतर्फ १ अर्ब ३६ करोड ३६ लाख बजेट खर्च भएको छ। संघीय पुँजिगततर्फ १ अर्ब ५६ करोड ४४ लाख बजेटमध्ये ५३ करोड ९७ लाख खर्च भएको हो। संघतर्फको चालुमा ६६ प्रतिशत र पुँजिगत विकास खर्चतर्फ ३५ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक डालेश्वर अर्यालले जानकारी दिए।
यस्तै, प्रदेशतर्फको कुल चालु वार्षिक बजेट ३५ करोड ११ लाख ३७ हजारमध्ये १४ करोड ९० लाख खर्च भएको छ। प्रदेशकै पुँजिगत विकास खर्च ४४ करोड २५ लाखमध्ये १२ करोड ४४ लाख मात्रै खर्च भएको छ। प्रदेशतर्फको चालुमा ४२ प्रतिशत र पुँजिगत विकास खर्चतर्फ २८ प्रतिशत मात्र खर्च भएको कोष नियन्त्रक अर्यालले बताए।
मुस्ताङमा गत आर्थिक वर्षमा चालुतर्फ ८७ प्रतिशत र पुँजिगत विकास खर्च ७४ प्रतिशत भएको थियो। गतवर्ष संघतर्फको चालु बजेट २ अर्ब १४ करोड ७४ लाखमध्ये १ अर्ब ८८ करोड ७९ लाख र संघीय पुँजिगततर्फ १ अर्ब ४३ करोड ५९ लाख मध्ये १ अर्ब ६ करोड ७८ लाख खर्च भएको थियो।
गत वर्ष प्रदेशतर्फको चालुमा ७६ प्रतिशत र पुँजिगततर्फ ८० प्रतिशत खर्च भएको थियो। जसमा प्रदेशतर्फको चालुमा ३३ करोड ३३ लाख बजेट मध्ये २५ करोड ५४ लाख खर्च भएको थियो भने पुँजिगततर्फ ६१ करोड ३८ लाख मध्ये ४८ करोड ५७ लाख बजेट खर्च भएको थियो।
गत वर्षको बजेट खर्चको तथ्यांक हेर्दा अबको चौथो त्रैमासिकसम्ममा ३९ प्रतिशत पँुजिगत खर्च गर्नुपर्ने देखिन्छ भने शतप्रतिशत बजेट खर्च गर्न ६५ प्रतिशत बजेट खर्च गर्नुपर्ने देखिन्छ। प्रदेशतर्फ गत वर्षको तुलनामा बजेट खर्च गर्न अबको तीन महिनामा ५२ प्रतिशत खर्च गर्नुपर्ने र शतप्रतिशत खर्च गर्न ७२ प्रतिशत बजेट खर्च गर्नुपर्ने देखिन्छ।
प्रदेशतर्फ मुख्य बजेट निकासा हुने कार्यालय पूर्वाधार विकास कार्यालयले चालु वर्षको नौ महिनामा २२ प्रतिशत र खानेपानी जलस्रोत तथा सिँचाइ सव–डिभिजन कार्यालयले २८ प्रतिशत मात्र बजेट खर्च गरेका छन्। पूर्वाधार विकास कार्यालय मुस्ताङको पुँजिगत विकास बजेट २३ करोड २८ लाखमध्ये ५ करोड ५७ लाख खर्च भएको छ। खानेपानी जलस्रोत तथा सिँचाइ सव-डिभिजनको १५ करोड ६६ लाख विकास बजेटमध्ये ४ करोड ४२ लाख खर्च भएको हो।
उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी-जोमसोम-कोरला)सडक आयोजनाले चालु आव २०७८/०७९ को तेश्रो त्रैमासिक अर्थात् चैत्र मसान्तसम्ममा कुल बजेट १ अर्ब ३८ करोड बजेटमध्ये ४९ करोड १२ लाख मात्रै बजेट खर्च गरेको छ। आयोजनाले चालु वर्षको ९ महिनामा कुल बजेटको ३६ प्रतिशत मात्र खर्च गरेको कोष नियन्त्रक डालेश्वर अर्यालले जानकारी दिए।
राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर सडकले गत वर्ष १ अर्ब २४ करोड पुँजिगत बजेटमा ९३ करोड खर्च गरेको थियो।
करिडोरले गत वर्ष कुल बजेटको ७५ प्रतिशत खर्च गरेको थियो। गत वर्षको तुलनामा करिडोर सडकले अबको ३ महिनामा थप ३९ प्रतिशत बजेट खर्च गर्नुपर्ने देखिन्छ। शतप्रतिशत खर्च गर्न थप ६४ प्रतिशत बजेट खर्च गर्नुपर्ने हुन्छ।