११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

पहिला भीरैभीर, अहिले टोल-टोलमै सडक


जनमञ्च संवाददाता
  • ६ बैशाख २०७९ , मंगलबार

  • पहिला भीरैभीर, अहिले टोल-टोलमै सडक

    बागलुङ, ६ बैशाख – भीरको बाटो हिँड्नु पर्दा विद्यालय पुग्न पनि सास्ती थियो । प्रशासनिक कामले वडा कार्यालय जानुभन्दा सदरमुकाम पुग्न सहज थियो । उक्त भीर काटेर अहिले टोलटोलमा सडक पुगेको छ ।

    बागलुङ नगरपालिका–११ को रायडाँडामा अहिले टोल–टोलमै गाडी चढेर पुग्न सकिने भएको हो । जोखिम क्षेत्र भएकोले बिशेष क्षेत्रमा सूचिकृत गरेर लगानी बढाउँदा रायडाँडाले विकासको गति बढाएको हो ।

    बिशेष क्षेत्रलाई लगानीमा प्राथमिकता दिने सरकारी नीति र वडाको निरन्तर प्रयासपछि भीर फोडेर २० किमीभन्दा धेरै सडक संजाल बनेको छ । त्योमध्ये ११ किमी लामो पूर्वपश्चिम फैलिएको वडा गौरवको सडक बनेको हो । त्यसबाहेक ४ वटा छोटा सडक पनि बनेपछि सबै टोलमा जिप चढेर पुग्न सकिने भएको छ ।

    मुकामसम्म पुग्ने सडकको ट्रयाक मात्रै खुलेको रायडाँडामा अब भने सबै टोलमा गाडी चढेर जान सकिने भएको हो । बिरामी पर्दा समयमा उपचार गर्न नपाउने बाध्यता अहिले हटेको स्थानीयले बताए । रामतोला, आफ्रे र सल्यानबासी चार घण्टा लगाएर सामान्य काममा वडा पुग्ने बाध्यता अहिले हटेको हो । गर्भवती, सुत्केरी र बुढापाकाहरु डोकोमा बोकिएर स्वास्थ्य चौकी आउने बाध्यता अहिले हटेको छ ।

    भौगोलिक जटिलताका कारण वडाका ६० प्रतिशत घरका मानिस सदरमुकाममा डेरा लिन्थे । गाडी चढेर दुइतीन घण्टासम्म पैदल यात्रा गर्नुपथ्र्यो । तर अहिले गाउँ पुग्ने सडक स्तरीय भएको छ । सदरमुकामदेखि झण्डै ३० किमी दुरीको आफ्रे र सल्यानसम्म गाडी चढेर पुग्न सकिने भएको हो ।

    मुख्य सडक मात्र नभइ वडाका सबै टोल–टोलमा बाटो पुगेको छ । जटिल भूगोल चिरेर गौरवको आयोजनाअन्र्तगत वडाभित्रै ११ किमी लामो छुट्टै सडक बनेको हो । यो सडकले तत्कालिन रायडाँडा गाविसको वडा नं. १ देखि ९ सम्मका सबै बस्ती जोड्छ ।

    ‘यो सडकको ट्रयाक खुलेपछि हामीलाई बलेवा, जैमिनी नगरको कुश्मीसेरा र सदरमुकाम जता गएपछि बाटो खुल्यो’ रामतोलाका धनबहादुर हरिजनले भने, ‘टोल–टोलमा चोक बनिसकेकोले साइनबोर्ड राख्नुपर्ने भैसकेको छ ।’ गैराघर, रामतोला, मौरीभीर, रायडाँडा, आफ्रे, सल्यानहुँदै सडकले जैमिनी नगरको वडा नं. ३ तर्फको पहुँच बढाएको छ ।

    नगरको बजेटले नपुगेपछि संघ र प्रदेशमा धाएर योजनाहरु पुरा गरेको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । ‘पटक पटक बजेट माग्दा नगरमा अर्गेलो भइयो, काठमाण्डौ सम्म पुगेर ल्याएको बजेटले मात्रै काम देखियो’ गौतमले भने, ‘अहिले सदरमुकाम सहित छिमेकी जैमिनी नगरपालिका र काठेखोला गाउँपालिका जाने नाकाहरु खुलेका छन् ।’

    सानो बजेटबाट भएको परिवर्तन देखेर नगरप्रमुख जनकराज पौडेल पनि सन्तुष्ट छन् । ‘दुर्गम भएपनि काम राम्रो भएको रहेछ’ जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले भने, ‘जटिल भूगोलमा काम गर्दा राम्रो नतिजा देख्रिएको छ ।’ अनुगमनको क्रममा यो वडाको पूर्वाधारलाइ ढुंगानाले अब्बल ठह¥याएको बताए ।

    यहाँबाट सदरमुकाम जोड्ने सडक पनि स्तरीय बनेको छ । डाँडो चिरा पारेर चारवटा छुट्टै ट्रयाक खुलेका छन् । गौरवको आयोजना अन्र्तगत ११ किमी ट्रयाक खोल्दा ३ करोड ५० लाख खर्च भएको गौतमले बताए । त्यसबाहेक लिस्नेभीरमा १ किमी पहरा फोडेर ट्रयाक खोल्न नेपाली सेनाले सघाएको थियो । १ करोड लगानीमा सेनाले बिष्फोटक पदार्थ प्रयोग गरेर ट्रयाक खुलेको हो । अन्य शाखा सडकमापनि २ करोडबढी लगानी भैसकेको हो ।

    सडक संजालले पाँच बर्षमै ठूलो परिवर्तन देख्न पाएको स्थानीय तेजकुमारी क्षेत्रीले बताइन् । सडक संजाल सबै टोलमा पुगेपछि उपचारमा निस्कने देखि बिद्यार्थी र शिक्षकले पनि सहज यात्रा गर्न पाएको बताए । किसानले फलाएका उत्पादन बजार पठाउन पनि सकेकोमा खुसी भएका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend