मेरिल्याण्ड (अमेरिका), ६ बैशाख – अमेरिकामा पहिलोपटक चैतेदशैं मेला भब्यरुपमा मनाइएको छ । बागलुङ समाज अमेरिका मेरिल्याण्डको आयोजनामा चैते दशै मेला २०७९ तथा नेपाली नयाँ बर्ष २०७९ को शुभकामना आदानप्रदान कार्यक्रम भब्य सहभागिताका साथ मनाइएको हो ।
अप्रिल १७ तारिकका दिन बाल्टिमोर मेरिल्याण्डको एउटा विशाल पार्कमा सम्पन्न भएको चैते दशैं मेला र शुभकामना कार्यक्रममा एक हजार भन्दा बढिको सहभागिता रहेको थियो ।
बागलुङको ऐतिहासिक पर्वको रुपमा हरेक बर्ष चैत्राष्टमीमा कालिका भगवती मन्दिरमा मनाईने चर्चित पर्व “ चैते दशै मेलाको झल्को विदेशमा समेत स्मरण गर्दै मनाउने उदेश्यले यसैबर्षदेखि मेला आयोजना गरिएको हो ।
कार्यक्रममा पञ्चेबाजा, लोकसंस्कृतिक गानाबजाना, नृत्य, खेलकूद कार्यक्रम, राफल चिट्टा कार्यक्रमका साथमा विभिन्न परिकार सहितको बनभोज कार्यक्रम मेलाको मुख्य आकर्षण रहेका थिए ।
कार्यक्रमको औपचारिक रुपमा उद्घाटन अमेरिकाको लागी नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतले विशेषरुपमा सजाएर राखिएको बागलुङ कालिका भगवतीको मन्दिर अंकित ब्यानरमा देवी भगवतीको तस्वीरलाई वैधिकरुपमा पुजा आराधना गरेर सजाईएको पानसमा दिप प्रज्वलन गरेर गरेका थिए । सो अवसरमा पञ्चेबाजाको मंगलधुन बजाईएको थियो ।
उक्त कार्यक्रममा विभिन्न स्थानीय संघसंस्थाहरुका प्रमुख एवं प्रतिनिधीहरु अथितीको रुपमा सहभागी भएका थिए भने स्वागत संस्थाका सल्लाहकार टंक कुँवरले गरेका थिए । कार्यक्रमको संचालन संस्थाका महासचिव नीर थापाले गरेका थिए ।

संस्थाका अध्यक्ष विपिन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि महावाणिज्यदूत महतले आयोजकप्रति आभार प्रकट गर्दै शुभकामना मन्तव्य दिएका थिए ।
बालबालिकादेखि युवा, वृद्ध आमाबुवाहरु उपस्थित रहेको सो मेलाको मुख्य आकर्षक भलिवल खेल प्रतियोगितामा ६ वटा टिमले भाग लिएका थिए । ठेलो फाल्ने प्रतियोगितामा लागी ३२ जना सहभागी भएका थिए ।
भलिवल खेलमा अन्तिम फाईनलमा पुग्न सफल बाग्लुङ समाज अमेरिका उपविजेता र म्याग्दी समाज अमेरिका विजेता घोषित भएका थिए । ठेलो फाल्ने प्रतियोगितामा बागलुङका विकाश जिसीले प्रथम स्थान हासिल गरेका थिए । सहभागीहरुको विचमा खोलिएको राफल चिट्टामा प्रथम पुरस्कार नगद ४१ हजार २००, दोस्रो पुरस्कार नगद ४ हजार ५०० र तेस्रो पुरस्कार नगद ४ हजार १५० गोलप्रथा मार्फत नतिजा निकाली प्रदान गरिएको थियो ।

शुभकामना आदानप्रदान कार्यक्रममा डिजे दिनेश गुरुङको महत्वपुर्ण भुमिका रहेको थियो । नाम्लो ईभेन्टका दिलीप श्रेष्ठले फोटोग्राफरको जिम्मेवारी बहन गरेका थिए । मेलाको आकर्षक पञ्चेबाजाको टिमको नेतृत्व गायक एवं वाद्यवादक अमृत रामदासले गरेका थिए ।
गायक एवं संगीतकार राजन ठकुरीको अगुवाईमा विभिन्न सांगेतिक गीत प्रस्तुत गरिएको थियो । लोकप्रिय गित सालेजो दोहोरी गित समेत प्रस्तुत गरिएको थियो । यसलाई वरिष्ठ लोकदोहोरी गायिका सृजना विरही थापा तथा लोकदोहोरी गायिका सुमित्राले साथ दिएका थिए । साथै गायक अमृत ढुंगेल, अमृत रामदास, वाद्यवादकहरु खिम बहादुर मस्राङ्गी, सुन्दर हमालले समेत साथ दिएका थिए ।