८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

गठबन्धनपछि अब कसको होला पल्लाभारी महानगरहरूमा ?


जनमञ्च संवाददाता
  • ८ बैशाख २०७९ , बिहिबार

  • गठबन्धनपछि अब कसको होला पल्लाभारी महानगरहरूमा ?

    पोखरा, ८ बैशाख – वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्तारूढ पाँच दल एकातिर र नेकपा (एमाले) अर्कातिर भएका छन्। यससँगै महानगरमा गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।

    महानगरमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका संयुक्त उम्मेदवार उठाउने सहमति गरेका छन्।

    पोखरा महानगर

    २०७४ सालको निर्वाचनमा पोखरामा एमालेका मानबहादुर जीसी ६० हजार ११८ मत पाएर निर्वाचित भएका थिए। दोस्रो नम्बरमा रहेका कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत पाएका थिए।

    त्यस्तै, फोरमका हुमबहादुर गुरुङले तीन हजार १७० र जनमोर्चाका चन्द्रबहादुर खत्री क्षेत्रीले २०६ मत पाएका थिए।

    त्यति वेला दुई हजार २७२ मत पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजित छ। राप्रपा फुटेर बनेको राप्रपा नेपालले एमालेलाई समर्थन गरेको छ। मेयरमा ३१ मत पाएको नेपाल परिवार दलले पनि एमालेसँग सहकार्य गर्ने भएको छ।

    पोखरामा  गठबन्धनबाट एकीकृत समाजवादीले उम्मेदवारी दिने भएकाे छ।

    काठमाडौं महानगर

    २०७४ सालको निर्वाचनमा काठमाडौं महानगरमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य निर्वाचित भएका थिए। उनले ६४ हजार ९१३ मत प्राप्त गरेका थिए।

    दोस्रो नम्बरमा रहेका कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाएका थिए। तेस्रो नम्बरमा रहेकी विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४२९ र स्वतन्त्र उम्मेदवार किशोर थापाले १८ हजार ४९६ मत पाएका थिए।

    त्यस्तै, माओवादीका सर्वोत्तमदास डंगोलले सात हजार ९०६, नयाँ शक्ति पार्टी नेपालकी पवित्र बज्राचार्यले ६ हजार ५०, राष्ट्रिय जनमोर्चाका निर्मलकुमार थापाले १३१ र मधेशी जनअधिकार फोरम नेपालका शिवहरि रिजालले ११८ मत पाएका थिए।

    एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी गठबन्धनमा छ। त्यति वेला वैकल्पिक शक्तिका रूपमा चर्चा पाएको विवेकशील र साझा मिलेर बनेको विवेकशील साझा पार्टी अहिले आन्तरिक विवादमा छ।

    गठबन्धनबाट काठमाडौंकाे मेयरमा कांग्रेसले उम्मेदवार उठाउने भएको छ।

    ललितपुर महानगर
    गत निर्वाचनमा ललितपुर महानगरमा कांग्रेसका चिरिबाबु महर्जन २४ हजार ६४२ मत पाएर निर्वाचित भएका थिए। दोस्रो नम्बरमा रहेका एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३१६ मत पाएका थिए।

    त्यस्तै, माओवादीका दिनेश महर्जनले १० हजार ६६१ र नयाँ शक्तिका मदन महर्जनले ७७९ मत पाएका थिए। ललितपुर कांग्रेसको भागमा परेको छ।

    भरतपुर महानगर

    भरतपुरमा माओवादीबाट रेणु दाहाल ४३ हजार १२७ मत पाएर निर्वाचित भएकी थिइन्। दोस्रो नम्बरमा रहेका एमालेका देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत पाएका थिए।

    त्यति वेला कांग्रेसले माओवादीलाई सघाएको थियो भने नयाँ शक्तिका सूर्यप्रसाद तिमिल्सिनाले ३५६, फोरमका राजु पौडेलले २१७ र जनमोर्चाका भक्तिराम गौतम शर्माले ८७ मत पाएका थिए।

    एमालेलाई समर्थन गरेको राप्रपा (विभाजनअघि) ले भरतपुरमा ६ हजार ८४२ र परिवार दलले १६ मत पाएका थिए।

    गठबन्धनबाट भरतपुर माओवादीको भागमा परेको छ।

    विराटनगर महानगर

    गत निर्वाचनमा विराटनगर महानगरमा कांग्रेसका भीम पराजुली २३ हजार ३१ मत पाएर निर्वाचित भएका थिए। दोस्रो नम्बरमा रहेका एमालेका विनोदप्रसाद ढकालले १७ हजार ३२१ मत पाएका थिए। एमालेलाई समर्थन गरेको राप्रपा (विभाजनअघि) ले विराटनगरमा  पाँच हजार ५२४ मत पाएको थियो।

    त्यस्तै, फोरमका उमेशकुमार यादवले १४ हजार ९५८ पाएका थिए। विराटनगरमा गठबन्धनबाट कांग्रेसले उम्मेदवारी दिने भएकाे  छ।

    वीरगञ्ज महानगर

    २०७४ को निर्वाचनमा वीरगञ्जमा फोरमका विजय सरावगी १९ हजार ३९३ मत ल्याएर निर्वाचित भएका थिए। दोस्रो नम्बरमा रहेका कांग्रेसका अजयकुमार द्विवेदीले १७ हजार १९७ मत पाएका थिए।

    त्यस्तै, तेस्रो नम्बरमा रहेका राजपाका राजेशमान सिंहले १२ हजार १६५ मत पाएका थिए। चौथो नम्बरमा रहेका लोकतान्त्रिक फोरमका विमलप्रसाद श्रीवास्तवले आठ हजार ७०१ मत पाएका थिए।

    एमालेका बसुरिद्दीन अन्सारीले आठ हजार ६८८ मत पाएका थिए। माओवादी केन्द्रका रहबर अन्सारीले आठ हजार ३०५ मत पाएका थिए। माओवादीले त्यति वेला मेयरमा उठेका अन्सारीलाई पार्टीबाट निष्कासन गरेको छ।

    सबैभन्दा धेरै फेरबदल वीरगञ्जमा भएको छ। फोरमबाट निर्वाचित मेयर सरावगी एमालेमा प्रवेश गरेका छन्। एमालेले सरावगीलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ। त्यस्तै, राजपाका सिंह जसपामा आएका छन्। सत्तारूढ दलका तर्फबाट वीरगञ्जमा जसपाले मेयर उठाउने भएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend