८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

कथा: आमा, बुवा र छोरी


सुवास बन्जाडे
  • १० बैशाख २०७९ , शनिबार

  • कथा: आमा, बुवा र छोरी

    दीपक र रिमाको विवाह भएको एक वर्ष गुज्रिएको छ । प्रकृतिको जन्म भएको छैन । कुनै एक अमुक दिन दीपक र रिमाको छलफल हुँदा दीपक  भन्छन्, ‘खोइ किन हो, आजकल त पढ्ने बानी नै छुट्यो । के भएको होला, के गर्ने होला ?’

    छतमा जाडो महिनाको उपयोग गरेर मुम्फली खाँदै, गफ गर्दै गर्दा विषय उठेको छ । जाडो यामको चिसो छ । घाम छ, सुक्खा छ । न्यानो ज्याकेट लगाउने मौसम छ । छतमा चराहरू फुत्रुकफुत्रुक गर्दै बदाम खान झुम्मिएका छन् ।

    ‘अस्ति मैले भनेको रोबेर्ट बोजोर्क र पूजा अग्रवालको किताब पढ । मानिसको मस्तिष्कलाई नयाँ ज्ञान सिक्न किन मुस्किल छ र के गर्नुपर्छ भन्ने राम्रो सल्लाह छ ।’ रिमाले दीपकलाई फटाफट एक तेजिलो सल्लाह दिइन् । दीपकलाई सल्लाह उचित लाग्यो । ‘हो, अब पढ्नपर्यो ।’ अडानजस्तो लिँदै दीपक कस्सिए ।

    दीपक बिहान चाँडो उठ्न थालेका छन् । कोठामा पाँच/छ कापी किनेर राखेका छन्, कलम छ । उधुम भएको छ । भित्रबाट केही बल्झिएजस्तो गरेर पूरै अध्ययनमा जमेका छन् । एक महिनापछि यिनलाई केही सिकेजस्तो, केही भएजस्तो भएको छ ।

    शनिबारको दिन बिहानै दुईजना घुम्न जाने तरखरमा छन् । बिहान सात बजे हल्का फलफूल र चिया खाएर पूरै तयारी अवस्थामा छन्, नौ बजे बस चढ्ने योजनासहित । जडीबुटीदेखि बाह्रबिसे जाने योजना । बिहान घाम लागेको छ । तुसारोको अन्त्य हुँदै छ । हावामा न्यानो पस्दै छ ।

    दुईजना बस कुर्न चोकमा उभिएका छन् । दीपकले निलो ज्याकेट लगाएका छन्, अनि जिन्सको पाइन्ट । भित्र भरपर्दो सुरुवाल चिसो नियन्त्रण गर्न अवस्थित छ ।

    रिमाको कालो ज्याकेट न्यानो दिँदै छ । दुवैका हात अलिअलि चिसाचिसा भएका छन् । घामको न्यानोमा पस्दै निस्कँदै गाडी कुदेका छन् ।

    स्टेसनमा बस रोकियो । दीपक र रिमा फुत्त एउटा डम्म सिसा लगाएको बसमा चढ्छन् ।

    गाडी एक घण्टाको यात्रापछि धुलिखेल पुग्छ । धुलिखेलको उचाइ तुवाँलो छोपेर बसेको छ । तुवाँलो दृश्यमा छ । मानिसले बालेको आगो र चिसोको भिडन्तजस्तो पनि देखिन्छ ।

    बाटो समातेर दुवै एउटा होटेलअघि पुगेका छन् । पहिले आएको स्थान हो । आगो बलेको छ । परिकार पाक्दै छ । बाहिरको टेबलमा दुवै बस्छन् । साहुनी एक अमुक उमेरको अनुहार बोकेर आउँछिन् ।

    ‘दुई ठाउँमा खाना ।’ रिमाको बोली निस्कन्छ ।
    ‘हुन्छ ।’ छोटोमिठो उत्तर दिएर साउनी गइन् । साहुजी आगोवरिपरि यताउता गर्दै हुन्छन् । बाटोमा मानिस सक्रिय छन् । चिसोलाई च्यालेन्ज दिन वरपर होटेलमा मानिस चियारूपी हतियार समाएर बसेका छन् ।

    खाना खाएपछि दुवैको शरीरमा न्यानो पसेजस्तो भएको छ । खानाको पैसा बुझाएर दुवै निस्केका छन्, बस चढ्न ।

    धुलिखेलबाट ओरालो लागेपछि बाह्रबिसेको बाटो समाइन्छ । टेसिलो ओरालो छ । हरियालीको साम्राज्य । पारि डाँडा देखिने । घर खासै देखिन्न ।

    तर, केराका बुटा, मानिसले कोपरेको माटो, केही बाटोजस्तो कोतारिएका रेखा । बस कुद्दै छ । पारि डाँडामा घाम खसेको छ । यो बाक्लो जंगल चिसो छ । घाम अझै रन्किएको छैन ।

    एक घण्टापछि बस खोलानजिक रोकिन्छ । ठूलो, बलियो खोला छ । डाँडाबाट शक्ति बटुलेर गड्गडाउँदै कुदेको । खोलाको आसपास माछा होटेल वाचाल छन् । आँखाअगाडि डाँडा छन् । डाँडाको शृंखला । अनि, अविरल इन्द्रावती ।

    रिमा र दीपक खोलाको आसपास हिँड्दै छन् । ‘रमाइलो र शान्त ठाउँ छ ।’ रिमाले बग्दै गरेको चिसो खोला हेर्दै भनिन् । खोलाको छेउ बसेर घाम ग्रहण गर्दै दुवैजना एउटा भावना मिसिएको समय सिर्जना गर्दै छन् । राग गफमा मग्न भएर दुवैजना बसेका छन् । एक घण्टा समयले बढाएको छ ।

    माछा खाने तरखरमा दुवै एउटा होटेलमा पुगेका छन् । कुनै माछा साना छन्, कुनै ठूला ।
    ‘सानो माछाको कति पर्छ, ठूलोको कति ?’ दीपकले साउनीअघि प्रश्न राखे ।
    ‘सानो प्लेटको पाँच सय । ठूलो तीन सय ।’ साउनीले बेर नगरी भनिन् । ग्राहक पसेकोले अलिअलि खुसी भाव उनीभित्र उम्रिएको थियो ।
    ‘सानोको पाँच सय किन नि ?’ रिमाको कौतूहल जाग्यो ।
    ‘सानो खोलाको हो । ठूलो पोखरीको हो ।’ साउनीले ठोस कुरा गरिन् ।
    ‘हुन्छ । एक प्लेट सानो र एक ठूलो दिनुस् ।’ दीपक फटाफट बोले ।

    माछा आयो । दुवैले कपाकप खाए । पिरो अचार साथमा छ । दीपक भन्छन्, ‘यो माछा खाएपछि त मेरो मस्तिष्क तेजिलो होला नि !’
    रिमाको जवाफ आउँछ, ‘तिम्रो मिहिनेत र ऊर्जा गजब छ । एक वर्ष समय देऊ, हतार र लोभ नगर ।’ दुवै हाँस्छन् ।

    एक, दुई गर्दै बाह्र वर्ष बित्छ ।
    असोज महिनाको बिहान । सात बजेको छ । कोठाको झ्याल खुला छ । दीपक योगको सिद्धान्तअनुरूप सचेत भएर ढाड सिधा पारेर ल्यापटपको अगाडि बसेर आफ्नो दैनिक बौद्धिक अभ्यास सुरु गरेका छन् ।
    यस कोठाका अरू दुई बौद्धिक खेलाडी रिमा र प्रकृति हुन् । तीनजनाको टोली, आमा, बुवा र छोरी ।

    छोरी प्रकृति दश वर्षको अनुभव प्रयोग गरेर कोठामा यताउता गर्दै छिन् ।  छोरी लड्लिन् भन्ने पिर आमाबुवालाई छैन । रिमा खाटमा उत्तानो परेर  कुनै किताब पढ्दै छिन् । झ्याल बाहिर विशालकाय ऐतिहासिक रूख, असोज महिनाको रातको चिसो पचाएर बिहानको न्यानो ग्रहण गरेर बसेको छ ।

    ‘दीपकजी के पढ्दै हो ?’
    रिमा हल्का ‘जी’ मार्का जिस्काइ कार्यान्वयन गर्न लागिन् । दीपकलाई यो विधिको पहिले नै ज्ञान भएकोले उनी एउटा हिमाली झुल्कोलाई माथ दिने मुस्कान लिएर बसे ।
    ‘हिजो पढेको दोहोर्याउँदै छु ।’ दीपकले प्रश्नको सटिक जवाफ दिए ।
    दीपकको पढ्ने विधि थाहा भएकोले रिमालाई उनको जवाफ सुनेर केही तरंग उत्पन्न भएन । उनी आफैँ पढ्न थालिन् ।
    छोरी प्रकृतिको बोली हावामा खस्यो, ‘पापा, मलाई सोध्नुस न् ।’ आफ्नो विज्ञान किताब पापालाई दिँदै छोरीले दीपकतिर हेरिन् ।

    दीपकले छोरीका सबै किताब लगभग पढिसकेका छन् । दीपकले छोरीतर्फ हेर्दै किताब नहेरी प्रश्न गर्न थाले । ‘अटम सानो हुन्छ कि स्याउ ?’
    छोरीले भनी, ‘अटम आँखाले देखिन्न । स्याउ देखिन्छ ।’
    दीपकले अर्को प्रश्न सोधे, ‘तिमीलाई चन्द्रमामा जान मन छ ?’
    ‘कसरी ?’ छोरीको प्राविधिक प्रश्न आयो ?
    बुवाको जवाफ, ‘रकेट चढेर ।’
    छोरी बोली, ‘हजुर पनि गैसिन्छ ?’
    दीपक मुस्कुराए । छोरी हाँसिन् ।

    ‘आज दिउसो घुम्न निस्कन पर्ला ।’ खाटमा लम्पसार परेर किताब पढ्दै गरेकी रिमाले चिसो हावामा प्रश्न छोडिन् ।
    ‘हुन्छ ।’ दीपकले छरितो उत्तर दिए ।

    ‘पापा, अर्को हप्ता मेरो रिजल्ट छ ।’ आफ्नो मधुर र अलिअलि तोतेबोलीमा प्रकृतिले एक्कासि एक महत्त्वको विषय सम्झिन् । अनि, फ्याट्ट बोली हालिन् ।
    दीपकको अनुभवी कानमा छोरीले बोलेको सूचना पर्छ । तर, कुनै प्रतिक्रिया जनाउँदैनन् । छोरीले भने आफूले कुनै महत्त्वपूर्ण विषय बोलेजस्तो नलागेर होला, आँखा किताबमा कुदाउन थाली ।

    बिहान नौ बजेको आसपास तीनजनाको टोली खान पकाउन लागेको छ । प्रकृतिको भूमिका आलंकारिक थियो । ग्यास बलिरहेको छ । तरकारी पाकिरहेको छ । चिसोमा बाफ प्रस्ट देखिएको छ ।
    दीपकले आफ्नो सम्पूर्ण ध्यान अदुवा काट्नमा केन्द्रित गरेका थिए ।
    ‘आइतबारदेखि नयाँ प्रधानमन्त्री आउने रे । संसद् विघटन गरेर अहिले प्रधानमन्त्री त खाल्डोमा खस्नुभएछ त !’ रिमाले भान्सामा राजनीतिक संगठनजस्तो जटिल विषय उठान गरिन् ।

    दीपकले एक टुक्रो अदुवा मुखमा क्वाप्प हाले । अदुवाको सुगन्धले यस्तो जटिल विषयमा बोल्न उनलाई आत्मविश्वास मिलेजस्तो भयो ।
    ‘अदालतले महाएक्सन लिएछ !’ दीपकले टिप्पणी दिए ।
    ‘हामीलाई त कुनै तनाव छैन, आज जाम तिम्रो ससुरालीतिर ।’ रिमा उवाच ।
    ‘हुन्छ । ससुराली जान म पूरै तयारी अवस्थामा छु । यो हप्ता राम्रो अध्ययन पुगेको छ । वैचारिक रूपमा पनि म पूरा तयार ।’ दीपकले मुख गुलियो पार्दै भने ।
    रिमाको अनुहारको भाव हेर्नलायक थियो ।
    छोरी प्रकृति हातमा एउटा बल लिएर भान्सामा खेल्दै थिई ।

    ससुराली, मामाघरको नियमित भ्रमणका लागि टोली पूरै तयार छ । आफू बसेको डेराभन्दा ससुरालीको दूरी ४५ मिनेट छ, हिँडेर जाँदा । शारीरिक सक्रियताको अवधारणा लागु हुने गरी बिहानको १० बजे यो टोली हिँडेर आफ्नो गन्तव्यतर्फ उन्मुख भयो ।

    घरको ढोका बाहिर निस्कनेबित्तिकै नेपाली माटो र मौलिकताअनुसार अनेकमध्ये एक सडक कुकुर एक चिन्तन लिएर पुच्छर हल्लाउँदै परिवारको पछिपछि लाग्यो ।

    प्रकृतिले कुकुरलाई देखी । कुकुर आफ्नो पुच्छर अनवरत हल्लाउँदै अघिअघि लाग्दै थियो । प्रकृतिले खल्तीबाट एक टुक्रा बिस्कुट विस्तारै झिकेर कुकुरतिर खसाली दिई । कुकुर खुसी भयो ।

    ससुराली आयो, हावामा एउटा संगीत पसेर निस्केजस्तो भयो । दीपक र प्रकृतिको मुस्कानबाट पनि कुनै राग निस्किँदै थियो । ससुराली प्रवेशपछि एक राउन्ड सनातनी नमस्कार चल्यो ।

    घरको पहिलो तलाको ठूलो कोठामा सबैजना लर्को लगाएर बसेका छन् । गफ चल्दै छ । रिमाकी बहिनी अहिले अस्ट्रेलियामा उद्यम गर्दै छिन् । यो घरमा बुवा र आमा मात्र छन् ।

    दीपकलाई यहाँको माहोल प्राकृतिक लाग्छ । औपचारिकतामा उनको हात निष्क्रिय हुँदैन । ससुरालीमा पनि उनको कार्यकारी स्वभाव कायम रहन्छ । भान्साकोठाले दीपकलाई तानिसकेको छ । चिया खाने तरंग उसमा आइसकेको छ ।

    पानी उमाल्न हालिएको छ । उम्लिएको पानिमा चियापत्ती हालेका छन् । तेजपत्ता हालिदिएका छन् । फटाफट अदुवाको टुक्रा खुर्किएर, टुक्रा पारेर हालिदिएका छन् ।
    चिया तयार हुन्छ ।

    किस्तीमा चार कप चिया हालेर दीपक सबै बसेर गफ गरेको कोठामा प्रवेश गर्छन् ।

    प्रकृतिले आफ्नो झोलामा किताब हालेर आएकी छ । एउटा किताब निकालेर सबैलाई प्रश्न तेर्स्याउँदै हिँड्दै छे । ‘हजुरबुवा, खरायो कथामा खरायोको नाम के हो भानिस्यो त ?’ निलो जाकेट लाएर ड्याम्म सोफामा बसेका रिमाका बुवालाई प्रकृतिले प्रश्न सोधी ।
    ‘आउँदैन मलाई त । मैले त्यो किताब पढेको छैन ।’ नातिनीतिर दृष्टि दिँदै रामप्रसाद बोले ।
    ‘ल, हजुर यो किताब पढ्दै गरिस्यो !’ भन्दै प्रकृतिले झोलाबाट अर्को किताब निकाली ।

    दिनभर पेप्सीकोलाको यस घरमा आवाज गुन्जिएको छ । बाहिर वातावरण सुन्दर छ । गर्मीका बादलको स्थानमा आकाशको नीलो रङ व्याप्त छ ।

    साँझ चार बजे घरको छतमा बसेर यताउता गर्दै सबै सक्रिय थिए । घरनजिकैको १०० रोपनीजतिको ठूलो सरकारी चौरमा मुख्य रूपमा  केटाकेटी खेल्दै थिए । अरू अनुभवले शरीर पुरानो बनाएका मानिस पनि शरीरका पुर्जालाई योग्य राख्न हिँडिरहेका थिए ।

    पाँच बजे ससुराली भ्रमण अन्त्य हुन्छ ।

    साँझको टाढाटाढासम्म देखिने दृश्य अवस्थामा दीपक र रिमा यताउता हेर्दै गनगन ध्वनि निकाल्दै निवासतर्फ बाटो तताउँछन् ।

    ‘भोलि त काममा जानपर्छ है । दुई दिन बिदा दिनपर्ने नि । केके गर्छन्, केके ।’ रिमाको आवाज सुनियो ।
    ‘दुई दिन त बिदा दिन पर्ने हो नि…।’ साँझको रङसँगै दीपकको सहमति मिसियो ।

    ‘मम्मा, अर्को शनिबार त हाम्रो रिजल्ट हो ।’ छोरी प्रकृति आफ्नो विषयमा केन्द्रित भई । ‘हो हो, जाने हो ।’ रिमाले छोरीतर्फ दृष्टि दिँदै उसलाई थामथुम पारिन् ।

    राति आठ बजे खाना खाएर तीनजना खाटमा उत्तानो परेका छन् । कोठाको पर्दा खोलिएको छ । बाहिर आकाशका तारा र सहरको झिलिमिलीको सागर छ । अँध्यारो पनि जमेर बसेको छ ।

    ‘रिमाजी, तपाईं थाकेको हो ?’ दीपकले एउटा प्राविधिक प्रश्नको प्रयोग गरे । मोबाइल चलाउँदै इन्टरनेटको जालोमा पसेर आँखालाई एकटक पार्न सक्रिय रिमालाई यो प्रश्न नयाँ होइन ।
    ‘अलिअलि त थाकेको छु ।’ रिमाको जवाफ आयो ।
    ‘हल्का मालिस गरम त ?’ दीपक फुर्तीसाथ बोले ।
    ‘हुन्छ ।’ रिमाले सहमति जनाइन् ।
    दीपक एक्सनमा आए । ‘धेरै लामो समय मसाज गर्न पर्दैन है ! फेरि म भावुक हुनसक्छु ।’ रिमाले मुख गुलियो पार्दै भनिन् ।

    दीपक एकैचोटि मसाज र घरेलु कूटनीतिको अभ्यास गर्दै छन् ।

    बिहान उठेपछि परिवारका तीनैजना एकएक दिशा समात्ने तयारीमा लागे । प्रकृति किताब मिलाउन लागी । टीभी बन्द थियो । कालो रङको स्कुल ब्यागभित्र ऊ केही सोच्दै, दिमाग चलाउँदै किताब यताउता गर्दै राख्दै थिई ।

    एक दिन, दुई दिन गर्दै यो हप्ताले आफ्नो गति पक्डियो ।

    शुक्रबार आयो । भोलि प्रकृतिको रिजल्ट हो ।

    साँझपख तीनैजना घरनजिक एउटा रेस्टुरेन्टमा बसेका छन् । बाहिर खुला छ । अलि उचाइमा राखिएको कुर्सीमा बसेर मःम ग्रहण गर्दै छन्, यी । छेउमा एटीएम मेसिनमा जादु शैलीमा पैसा निकाल्न मानिस पस्ने र  खल्ती न्यानो पारेर निस्कने क्रम जारी छ ।

    ‘छोरी, मलाई त रेस्टुरेन्टको स्पेलिङ आउँछ ।’ दीपक छोरीतिर हेर्दै बोले ।
    ‘मलाई त आउन्न पापा । भनिस्यो त ।’ प्रकृतिले आफ्नो पापाको अध्ययनशील मुहारमा साधारण दृष्टि दिई ।
    ‘हुन्छ । तर, म पन्ध्र मिनेटपछि फेरि सोध्छु है ।’ दीपकले आफ्नो भनाइ राखे ।
    ‘हुन्छ ।’ छोरीको सहमति आयो । एकबुँदे मौखिक सहमति भयो ।

    एटीएमको छेउमा एकजना मम्मा र उनको सानो छोरा थिए, पालो कुर्दै । छोरा सानै भएकोले नियमको शृंखलाबाट बाँधिएको थिएन । ऊ कहिले उफ्रेर एटीएमभित्र हेर्थ्यो, कहिले भुइँमा निहुरिएर ।

    आमा पनि भलाद्मी परेकोले ‘ग’ सुर प्रयोग गरेर छोरालाई गाली गरिनन् । उनी छोराको स्वाभाव देखेर आफैँ अचम्म परेको भाव लिएर स्थिर उभिएकी थिइन् ।

    रिमा यो दृश्य टेस मानेर मःमको स्वाद लिँदै हेर्दै थिइन् । साँझ बाक्लिन  थालेपछि तीनैजना रात्रिकालीन भाव बोकेर हिँड्दै निवासोन्मुख भए ।

    सनातनी हिसाबले शनिबारको दिन आयो । शनिबार आउँदै गर्छ । जाँदै गर्छ । आज फेरि आयो । आज छोरीको रिजल्ट लिन जाने दिन । आजको डिसकोर्स । आजको माहोल ।
    अघिल्लो हप्ता ससुराली भ्रमणको माहोल थियो ।

    स्कुलमा भिडभाड थियो । आमाबुवा र केटाकेटीको थुप्रो लागेको थियो । स्कुलका शिक्षकहरू कोही टिलिक्क परेर सर्ट र पाइन्टमा, कोही कुर्तामा  चलायमान थिए ।

    प्रकृतिको क्लासमा तीनजना भित्र पसे । पाइन्ट र सर्टमा सजिएका र बिहानबिहान नुहाएर टिलिक्क टल्किएजस्ता भएका शिक्षक एक रास रिजल्टको थुप्रो लिएर बसेका थिए ।

    ओठमा प्राचीन मुस्कान अनवरत भएजस्तो देखिने । यिनले कपालमा पहिले तेल लगाएछन् अनि नुहाएछन् । त्यसले कपाल बाक्लो देखिएको छ । यिनले चिनेको विद्यार्थी र परिवार भएकोले यिनले फटाफट रिजल्ट निकाल्न थाले ।

    प्रकृति प्रायः पहिलो हुने । र, योचोटि पनि पहिलो भएको उसलाई थाहा थियो । तर, ऊ नतिजा हातमा लिएर नै भन्न चाहन्थी । शिक्षकले नतिजा निकाले र भने, ‘प्रकृति पहिलो भएकी छन् ।’ उनले राग भूपलीको सुर हालेजसरी बोले ।
    ‘दोस्रो को भयो नि ?’ रिमाले बडो सैद्धान्तिक लाग्ने प्रश्न सोधिन् । शिक्षकले भने, ‘दीपक परियार’ ।
    ‘ए !’ रिमाको प्रतिक्रिया आयो ।

    दीपक, रिमा र प्रकृति नतिजा लिएर बाहिर उभिएका छन् । पानी पिउँदै छन् । एकजना आमाछोरा पनि रिजल्ट समातेर बाहिर निस्किए । अमिलो अनुहार लिएर आमाचाहिँ यताउता हेर्दै हिँड्दै थिइन् ।

    छोरा भने अनुभवीजस्ता लाग्ने अनुहारमा प्रतिक्रिया शून्य भाव लिएर आफ्नो अघि बढ्दै थिए । यी बालक र प्रकृति एकै क्लासमा पढ्छन् । यिनको आमालाई आफ्नो छोरा प्रायः बीस÷एक्काइस स्थानमा आउने भएकोले तनाव थियो ।
    यिनले क्लासमा कुन विद्यार्थी पहिलो, दोस्रो हुन्थे, कसले राम्रो पढ्थे जानकारी राखेकी थिइन् ।

    प्रकृति र रिमालाई देखेपछि यिनी क्यान्टिनतर्फ गइन् । एउटा जुस किनिन् । । छोरालाई कुर्सीमा ‘बस्’ भन्दै फटाफट एउटा दिशा समातिन् । मुसुक्क हाँस्दै प्रकृति भएतर्फ पुगिन्, ‘मेरो छोरा पनि नानीसँगै पढ्छ ।’
    आफ्नो परिचय दिइन् । ‘ए हो !’ रिमाले आमाचाहिँको अनुहार हेरिन् ।
    ‘हेर्नुस् न, नानी त कस्तो राम्रो पढ्छिन् । मेरो बाबुचाहिँ सधैँ बीसौँ हुन्छ । अलि राम्रो पढोस् भनेको…। केही हुँदै हुँदैन । बदमास पनि छैन, पढ्दा पनि पढदैन ।’
    ‘बदमास पनि छैन र पढ्दा पनि पढ्दैन भनेपछि दार्शनिकजस्तो रहेछ !’ सबै हाँसे ।
    ‘छोरालाई कसरी पढाउने होला ? म त तपाईंसँग सल्लाह लिन आएको ।’ आमाको नीतिगत उद्देश्य देखियो ।
    ‘नयाँ ज्ञान सिक्न गाह्रोे हुन्छ । समय लाग्छ । आफूले पनि पढ्नुपर्छ ।  बुवाआमाले मिलेर सिकाउनुपर्छ । नत्र हुन्न ।’
    ‘तपाईंहरूले नानीलाई आफैँ पढाउनुहुन्छ ?’ आमाले चाख लिएर प्रश्न सोधिन् ।
    ‘हो, प्रकृति पहिलो भए पनि उसले भन्दा धेरै हामीले पढ्छौँ ।’ रिमाले उत्तर दिइन् ।

    Tags :
    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend