काठमाडौं, १५ बैशाख – चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलब ८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्यांक विभागले सरकारलाई राहत मिल्ने गरी प्रक्षेपण सार्वजनिक गरेको हो ।
विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिकीकरण कार्यक्रममा आर्थिक वृद्धिदरको आँकलन सुनाउनुभएको थियो ।
विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको वृद्धिदर २ दशमलब ३ प्रतिशत रहने अनुमान गरेको छ । यस्तै, उद्योगमा १० दशमलब ३ प्रतिशत र सेवा क्षेत्रमा ५ दशमलब ९ प्रतिशतको वृद्धिदर हासिल हुने विभागको अनुमान छ । आर्थिक वर्ष सकिनुभन्दा करिब तीन महिना अगाडि विभागले आर्थिक वृद्धिदरको प्रक्षेपण सार्वजनिक गरेको हो ।
अघिल्ला दुई वर्षमा कोभिडका कारण नेपालको वृद्धिदर प्रभावित बनेको थियो । विभागले गरेको अनुमान सही सावित भएमा अर्थतन्त्रका लागि सुखद मानिने छ । यतिबेला कोभिडको असर नगण्य भइसकेकाले अर्थतन्त्रमा थप क्षति नपुग्ने विभागले जनाएको छ ।