८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
स्थानीय चुनाव २०७९

भरतपुरको मेयरमा कांग्रेस मत नै निर्णायक


जनमञ्च संवाददाता
  • २१ बैशाख २०७९ , बुधबार

  • भरतपुरको मेयरमा कांग्रेस मत नै निर्णायक

    गत निर्वाचनमा भरतपुर महानगरमा मेयरको उम्मेदवारै नभएको रुख चिह्नमा सात हजार मत परेको थियो। त्यहि मत कता जान्छ भन्ने कुराले यसपटकको परिणाम प्रभावित हुने देखिन्छ।

    भरतपुर, २१ बैशाख –  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवारी चयनका लागि बहस शुरू हुँदादेखि मनोनयन दर्ता, फिर्ताको समय र अहिलेको प्रचारप्रसारको अवधिमा पनि उत्तिकै चासो लिएर भरतपुर महानगरलाई हेरिएको छ। महानगरको मेयर पदका लागि ३० जनाले उम्मेदवारी दिएकोमा तीन जनाले फिर्ता लिए।

    राजनीतिक दलबाट १५ र १२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। त्यसमध्ये नेकपा (एमाले) का विजय सुवेदी, गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की रेणु दाहाल र स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार जगन्नाथ पौडेलबीच प्रतिस्पर्धा हुने अनुमान गर्न थालिएको छ।

    कांग्रेसकै भर

    माओवादीका चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारी विकास चाहनेले मेयरमा दाहाललाई नै मत दिने बताउँछन्। प्रतिपक्षको तुलनामा बलियो उम्मेदवार भएकाले पनि जित्ने आधार भएको उनको दाबी छ। “पाँच दलको गठबन्धन भएकाले बलियो संगठनात्मक आधार, प्रतिगमन विरोधी शक्ति एकातिर र प्रतिगमनको पक्षधर अर्कातिर भएकाले राजनीतिक आधार  तथा २०७४ को चुनावमा पनि कांग्रेससँग गठबन्धन गरेर चुनाव जित्दा जे कुरा स्थापित गरेका छौं, त्यसलाई पूर्णता दिएर जुन विकासका मोडल तय गरेका छौं त्यो नै जितको आधार हो,” अधिकारीले भने, “आश्वासन मात्र नभई गरेर देखाउने टेस्टेड नेतृत्व लिएर चुनावमा गएका कारण जित्ने सुनिश्चित छ।”

    षडयन्त्रपूर्वक मतपत्र नच्यातिएको भए २०७४ साल कै निर्वाचनमा एमोलका उम्मेदवार विजयी हुने राष्ट्रिय सभा सदस्य समेत रहेकी एमाले केन्द्रीय सदस्य पार्वती रावल बताउँछिन्। जनमत र संगठन परिचालनलाई हेर्दा नतिजा आफ्नो पार्टीका उम्मेदवार सुवेदीको पक्षमा आउने उनको दाबी छ। “हाम्रा उम्मेदवार निर्धक्क र स्पष्ट वक्ताका साथै ‘हेभी वेट’ भएका साझा उम्मेदवार हुन्। चितवन बुझेको, चितवनको गुरुयोजनाका निर्माता र परिकल्पनाकार समेत हुन्,” उनले भनिन्, “भरतपुरलाई व्यवस्थित बनाउन सक्ने सक्षम उम्मेदवार, २०७४ सालमा प्राप्त गरेको मत, अहिले थपिएको मतदाता, संगठनको बल, पार्टीले गरेको कामको आधारमा र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गरिएको गठबन्धन नै जीतका आधार हुन्।”

    जनताको अभिमत जाँच्ने र उम्मेदवारले परीक्षा लिने आधार स्थानीय चुनाव हो। माओवादीका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणुमाथि २०७४ मा मतपत्र च्यातेर विजयी भएको आरोप छ। त्यतिवेला कांग्रेसबाट उम्मेदवारी दिएकी पार्वती शाह ठकुरी एउटै गठबन्धन भए पनि रेणुले भन्दा चार हजार भोट बढी ल्याएर उपमेयरमा विजयी भएकी थिइन्। यसपटकको चुनावमा पनि कांग्रेसकै मत निर्णायक हुने देखिन्छ। कांग्रेसका मतदाता र माओवादीका मतदाताको मत पाएर जित्ने गठबन्धनका उम्मेदवार रेणुको दाबी छ।

    २०४९ सालमै भरतपुरको उपमेयर रहिसकेका मेयरका अर्का प्रत्यासी जगन्नाथ पौडेल भने पार्टीको निर्णयले रुष्ट कांग्रेसीको भावना र मत दुवै आफूले पाउने बताउँछन्। कांग्रेसमा भएको किचलोले गर्दा कांग्रेसी मतदाताको केही मत पौडेलले काट्ने र त्यसको फाईदा एमालेका उम्मेदवार सुवेदीलाई पुग्ने आंकलन एमालेको छ।

    विगतको नतिजा

    २०७४ सालको स्थानीय चुनावमा भरतपुर महानगरको मेयरमा दुई स्वतन्त्र सहित १४ जनाले प्रतिस्पर्धा गरेका थिए। माओवादी-कांग्रेस गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी दाहाल ४३ हजार १२७ मत पाएर विजयी भएकी थिइन्। उनको प्रतिस्पर्धी एमालेका देवी ज्ञवालीले ४२ हजार ९२४ मत पाएका थिए। मतपत्र च्यातिएपछि पुनः मतदान भएको थियो। त्यसमा २०३ मतको अन्तरले दाहाल विजयी भएकी थिइन्।

    त्यतिवेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार वद्रीनाथ तिमिल्सिनाले ६ हजार ८४२ मत पाएका थिए।  अन्य पार्टी र उम्मेदवारले पाँच सयभन्दा कम मत पाएका थिए। एक लाख १२ हजार ८९७ मत खसेकोमा एक हजार ४२४ मत बदर भएका थिए।

    महानगरका २९ वडामध्ये १४ वडामा एमालेले जितेको थियो। त्यस्तै १२ वडा कांग्रेसले र तीन वडामा माओवादीका उम्मेदवार वडाध्यक्षमा विजयी भएका थिए।

    उम्मेदवार नभएको चिह्नमा सात हजार मत

    पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि कांग्रेस कार्यकर्ताले त्यतिवेला मेयरको उम्मेदवारी फिर्ता लिएका थिए।त्यसपछि कांग्रेसले मेयरमा माओवादी उम्मेदवारलाई सघाएको थियो। तर, देउवाको दवावमा उम्मेदवारी फिर्ता लिए पनि रुख चिह्नमा करीब सात हजार मत परेको थियो।

    मेयर पदको उम्मेदवारी कांग्रेसले पाउनुपर्ने माग कार्यकर्ताले गरे पनि यस पटकजस्तै उपमेयरको उम्मेदवारीमा चित्त बुझाउन कांग्रेसी कार्यकर्ता बाध्य भएका थिए। त्यस चुनावदेखिको पार्टीको निर्णयप्रतिको विरोधाभाष र किचलो अहिले पनि उस्तै छ। कांग्रेसका कार्यकर्ता कति रुष्ट छन् भन्ने कुरा उम्मेदवार टुङ्गो लगाउने वेलादेखि नै यहाँ भइरहेका घटनाक्रमलाई हेर्न सकिन्छ। चुनावका लागि गठबन्धनको चर्चा चलेदेखि नै चितवनका जिल्ला स्तरीय र केन्द्रीय नेताहरूले पार्टीका सभापतिलाई नै भेटेर कांग्रेसको पकड रहेको भरतपुरमा कांग्रेस कै मेयर उम्मेदवार हुनुपर्ने माग राख्दै आएका थिए।

    गठबन्धन गर्ने र मेयरको उम्मेदवार माओवादीलाई दिने निर्णय भएपछि पनि भरतपुरका २९ वटै वडाका वडा सभापतिले संयुक्त रुपमा राजीनामा दिएर कांग्रेसबाटै मेयरको उम्मेदवार हुनुपर्ने माग राखेका थिए। पार्टीको उम्मेदवारले मेयर पद नपाउँदाको परिणाम नै हो कांग्रेस नेता एवं वरिष्ठ अधिवक्ता पौडेलको उम्मेदवारी।

    कार्यकर्ताको भावनाको प्रतिनिधित्व गर्दै जगन्नाथ

    गठबन्धन गरेर मेयर माओवादीलाई दिँदा आम सदस्यमा निराशा पैदा गरेको र कार्यकर्ता क्रुद्ध रहेको अधिवक्ता उद्धव लोहनी बताउँछन्। कांग्रेसको विधान र पार्टी सदस्यले रुख चिह्नलाई मात्र चिन्ने र कांग्रेसको राजनीतिक नेतृत्व गलत ट्रयाकमा गएको बताउँदै उनी भन्छन्, “विधानको पालना सभापति र केन्द्रीय समितिबाटै भएको छैन।”

    कांग्रेसको विधानमा राजनीतिक दलहरू बीचको गठबन्धनको परिकल्पना नरिएको उनी बताउँछन्। भिन्न राजनीतिक दर्शन बोकेका दलबीच हुने गठबन्धन अप्राकृतिक भएको उनको बुझाइ छ। पार्टीको सिद्धान्त, मर्यादा र शालिनता र परम्परालाई नधानीकन गठबन्धन गरिनु वैधानिक र वैचारिक रुपमा विचलन भएको तर्क छ।

    चितवनको कांग्रेस भित्रको विचलनमा कार्यकर्ताको भावनालाई प्रतिनिधित्व गरेर वरिष्ठ अधिवक्ता जगन्नाथ पौडेलको उम्मेदवारी दर्ता भएको हो,” लोहनी भन्छन्, “रुख चिह्नको विरुद्धमा उम्मेदवारी दिएको होइन। त्यसैले यो उम्मेदवारी न बागी हो न विद्रोही हो।”

    अधिकांश कांग्रेसी कार्यकर्ता उम्मेदवार पौडेलले पाएको भूँइकटहर चिह्नको प्रचारप्रसारमा रहेको उनले बताए। “आफ्नो बलियो घर हुँदाहुँदै पार्टीले पाली बारेर अर्काको घरमा बस्ने निर्णय गरेको छ,” लोहनीले भने, “पार्टीको अस्तित्व रक्षाका लागि र नेतृत्वलाई चुनौती दिन कांग्रेस कार्यकर्ता भूँइकटहरमा मतदान गर्नेछन्, सञ्चारको यो युगमा ठूलो मान्छे नभई असल मान्छेलाई मतदान गर्ने भएकाले उहाँको जीत सुनिश्चित छ।”

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend