२९ भाद्र २०८३ , सोमबार

२९ भाद्र २०८३ , सोमबार
  • २९ भाद्र २०८३ , सोमबार
  • September 14 2026

भरतपुरमा एमाले झन् खस्कियो, राप्रपासँग मिल्दा पनि घट्यो मत


जनमञ्च संवाददाता
  • १० जेष्ठ २०७९ , मंगलबार

  • भरतपुरमा एमाले झन् खस्कियो, राप्रपासँग मिल्दा पनि घट्यो मत

    चितवन, १० जेठ – भरतपुर महानगरपालिकामा नेकपा एमालेले विगतभन्दा खराब प्रदर्शन गरेको छ । अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनलाई एक्लै सामना गरेको एमालेले यसपटक राप्रपासँग तालमेल गर्दा पनि विगतभन्दा खराब प्रदर्शन गरेको हो ।

    २०७४ सालको स्थानीय निर्वाचनमा एमालेले भरतपुर महानगरको प्रमुखमा प्राप्त गरेकोभन्दा यसपटक कम मत प्राप्त गरेको छ । जबकि यसपटक ३५ हजार नयाँ मतदाता थपिएका थिए । अघिल्लो निर्वाचनमा भरतपुर महानगरको प्रमुखमा एमाले उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए । कांग्रेस(माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालसँग २०३ मतले मात्रै ज्ञवाली पराजित भएका थिए । यसपटक एमालेले आफ्नै मतसमेत जोगाउन सकेन ।

    ३५ हजार मतदाता बढेको र राप्रपासँग संगठित तालमेल भएको अवस्थामा पनि एमाले उम्मेदवार विजय सुवेदीले ३९ हजार ५८२ मत प्राप्त गरे । जुन अघिल्लो निर्वाचनमा ज्ञवालीले प्राप्त गरेभन्दा ३ हजार ३४२ मतले कम हो ।

    पार्टी विभाजनबाट पुगेको क्षति राप्रपासँगको तालमेलबाट पूर्ति गर्ने एमालेको रणनीति असफल रह्यो । अघिल्लो निर्वाचनमा एमालेबाट वडा अध्यक्ष जितेका ५ जना नेकपा एकीकृत समाजवादीमा लागेका थिए । अहिले समाजवादीबाट ३ जना वडा अध्यक्ष निर्वाचित भएका छन् । अघिल्लोपटक १४ वटा वडा जितेको एमाले यसपटक ६ वटा वडामा खुम्चिएको छ ।

    पार्टी विभाजनका दौरान एमालेमा तुलनात्मक रुपमा कम क्षति भएकोमध्ये चितवन पनि एक हो । तर, भरतपुरको परिणामले एमालेभित्र संगठित कलह नदेखिए पनि आन्तरिक अन्तरविरोध यथावत रहेको स्पष्ट हुन्छ । अघिल्लो निर्वाचनमा २९ मध्ये १५ वटा वडामा एमालेले अग्रता लिएको थियो । यसपटक भने २६ वटा वडामा एमाले पछि पर्यो । अधिकांश वडामा एमालेले वडा अध्यक्षमा पाएको भन्दा कम मत प्रमुखमा गएको देखिन्छ ।

    एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने अघिल्लो निर्वाचनभन्दा मत घट्नुको मुख्य कारण बदर मत भएको दाबी गर्छन् । तालमेलका कारण एमालेका धेरै मत बदर भएको र तालमेल पनि व्यवस्थित हुन नसकेको न्यौपानेको भनाइ छ ।

    ‘राप्रपासँग तालमेल गरे पनि राप्रपाको सबै संगठित मत एमालेले पाएन । स्वतन्त्र उम्मेदवारका कारण कांग्रेसको असन्तुष्ट मत आकर्षित गर्न पनि सकिएन । कतिपय स्थानमा गठबन्धनले प्रलोभन देखाएर मत प्रभावित गरेको छ’, न्यौपानेले भने । उनले विगतमा देवी ज्ञवालीले नै एमालेको भन्दा बढी मत ल्याएको बताए ।

    ‘हाम्रो मत ३८–३९ हजार नै हो, देवीजीले ४३ हजार पाए पनि । केही प्राविधिक कमजोरीले गर्दा हामीलाई ३–४ हजार मत कम भयो । गठबन्धनको असन्तुष्ट मत जगन्नाथजीले लगेकोले पनि हामीलाई क्षति भएको हो । तर, एमाले कमजोर भएको होइन । हामी जिल्लाभरमै पहिलो पार्टी हौं’, न्यौपानेले भने ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend