दमौली, २७ जेठ – पृथ्वीराजमार्गअन्तरगत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखर ड्याममा सडक भाँसिएपछि अवरुद्ध भएको सडक एकतर्फी सुचारु भएको छ ।
शुक्रबार बिहान करिब पौने ५ बजेदेखि ठप्प भएको सडक दिउँसो ३ बजेपछि साना सवारी मात्रै एकतर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सडकको कुनातर्फको पहरो ठोजर लगाएर काटेर फालेपछि साना सवारी पास भएका हुन् छ । ठूला सवारी साधनलाई भने प्रवेश गराइएको छैन ।

सडक भाँसिदा बा १० च ४६७९ नम्बरको कार, ग १५ प २९५३ नम्बरको मोटरसाइकल, बा ३३ प १०८१ नम्बरको मोटरसाइकल खसेर बेपत्ता भएका छन् । घट्नामा दुई पुरुषको शव भेटिएको छ ।
मृतमध्ये एकजनाको पहिचान खुलेको छ । उनी गोरखा सिरानचोक गाउँपालिका वडा नं ५, स्थायी घर भई हाल जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं। २ बस्ने ३५ वर्षीय केशव घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकार दिए ।
उनका अनुसार अर्को शवको हालसम्म सनाखत हुन सकेको छैन । शवलाई अहिले जिल्ला अस्पताल दमौलीमा ल्याइएको छ । बा ३३ प १०८१ नं को मोटरसाइकल बेपत्ता भएपनि चालक र मोटरसाइकलमा सवार व्यक्ति सकुशल रहेको प्रहरीको भनाइ छ ।
