८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
हरेक महिनाको पहिलो आइतबार ‘जनतासँग मेयर कार्यक्रम’ सञ्चालन गर्ने

यस्तो छ बालेन साहले प्रस्तुत गरेको काठमाडौं महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)


जनमञ्च संवाददाता
  • ५ असार २०७९ , आइतबार

  • यस्तो छ बालेन साहले प्रस्तुत गरेको काठमाडौं महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

    काठमाडौं, ५ असार – काठमाडौं महानगरपालिकाले कुहिने फोहोरलाई घरमै मल बनाउनेलाई सोही प्रयोजनमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ ।

    आइतबार काठमाडौं महानगरपालिकाको नगरसभाको ११औँ अधिवेशनमा आर्थिक वर्ष २०७९/‍०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र साहले फोहोरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमै वर्गीकरण गर्ने व्यवस्था मिलाइने समेत बताए ।

    प्रविधिमा आधारित फोहोरमैला व्यवस्थापन प्रणाली उपयोग गरी महानगरको फोहोरमैलाको दिगो व्यवस्थापन गरिने र यसका लागि आवश्यक अध्ययन, अनुसन्धान, प्रविधि पहिचान तथा सोको प्राप्ती, स्थापना, विकास र संचालनको कार्यक्रम गर्न एक छुट्टै परियोजना गठन गरी जिरो वेस्ट कार्यान्वयन अवधारणा कार्यान्वयन गर्ने नीति लिइने पनि नीति तथा कार्यक्रममा भनिएको छ ।

    मेयर साहले फोहोर बस्तुको संकलन, ढुवानी, प्रशोधन, पुनः प्रयोग तथा सोबाट उर्जा उत्पादनका लागि काठमाडौं महानगरपालिकालगायत अन्य स्थानीय तहका उपयुक्त स्थानहरूमा वेस्ट टू इनर्जी प्लान्ट जडान गर्ने नीति लिइने पनि बताए ।

    महानगरपालिका क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरूको लगत राखिने उल्लेख गर्दै उनले ती ठाउँहरूमा पार्क निर्माण गरिने बताए ।

    नीति तथा कार्यक्रममा हरेक महिनाको पहिलो आइतबार ‘जनतासँग मेयर कार्यक्रम’ सञ्चालन गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।

    त्यसैगरी महानगरपालिकाका सबै कार्यालयहरूमा सीसीटीभी जडान गरी सेवा प्रवाहको कामलाई निगरानीमा राख्ने व्यवस्था मिलाइएको पनि मेयर साहले बताए । महानगरपालिकामा हलुका सवारी साधनलाई व्यवस्थापन गर्नका लागि सवारी साधन मापदण्ड तर्जुमा गरी लागू गर्ने, महानगरपालिकाको सेवालाई होम डेलिभरी सरकारको अवधारणाअनुसार अघि बढाइने नीति पनि अघि सारिएको छ ।

    मेयर साहले कर तथा गैरकर स्थानीय राजस्वको अनुगमन गर्न विशेष टोली गठन गरी परिचालन गरिने बताए । महानगरभित्र घर जग्गा तथा जग्गा बहालमा लिने/दिने कार्यलाई कम्पनीमार्फत् व्यवस्थित गर्न आवश्यक व्यवस्था मिलाउने, महानगरपालिकाको कर संकलनका लागि व्यवस्था गरेको अनलाइन प्रणालीलाई थप व्यवस्थित गरी सबै कर तथा गैर करलाई करदाताको पहुँचमा वृद्धि गर्न आवश्यक प्रबन्ध मिलाउने कुरा पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

    बाह्य विज्ञापन गर्ने स्थान एकिन गरी तोकिएको स्थान र साईजमा मात्र विज्ञापन सामग्री राख्ने व्यवस्था मिलाउने प्रबन्ध पनि नीति तथा कार्यक्रममा रहेको छ । मेयर साहले साविकमा रहेका विज्ञापन सामग्रीहरूलाई स्थानान्तरण गर्न आवश्यक व्यवस्था मिलाउने पनि बताए ।

    काठमाडौं महानगरपालिकामा रहेको सवारी साधन पार्किङको समस्या समाधानका लागि एक अध्ययन टोली गठन गर्ने कुरा नीति तथा कार्यक्रममा रहेको छ । मेयर साहले सो अध्ययन टोलीले दिएको प्रतिवेदनको आधारमा खुला प्रस्ताव आह्वान गरी प्रतिस्पर्धात्मक विधिबाट सवारी साधन पार्किङको व्यवस्थापन गरिने बताए । बढ्दो सवारी चापलाई मध्यनजर गरी महानगरपालिकाको वडा नम्बर ११ मा रहेको खुलामञ्चसँगैको जग्गामा रिभर्स बोरिङसहितको भूमिगत पार्किङका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सम्भाव्यता अध्ययन गरिने कुरा पनि नीति तथा कार्यक्रममा प्रस्ताव गरिएको छ । मेयर साहले फुटपाथमा पसल राख्ने कार्यलाई निषेध गर्न निश्चित स्थान र समय तोकी बजार व्यवस्थापन गर्ने बताए ।

    महानगरपालिकाले स्थानीय समूदायलाई करेसाबारी, कौसीबारी तथा भर्टिकल गार्डेनका लागि प्रोत्साहन गर्ने नीति पनि लिने भएको छ । महानगरवासीलाई सर्वशुलभ तबरले तरकारी, फलफूलहरूको आपूर्ति गर्ने व्यवस्थाका लागि शीत भण्डारको व्यवस्था गर्ने योजना पनि ल्याइएको मेयर साहको भनाइ थियो । उनले महानगरपालिका भित्रिने खाद्य वस्तुको गुणस्तर परीक्षणको पनि व्यवस्था मिलाउने बताए ।

    काठमाडौं महानगरभित्र रहेका सबै शैक्षिक परामर्श केन्द्र र ट्युसन कक्षा सञ्चालन गर्ने संस्थाको नियमन पनि हुने भएको छ । महानगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सो व्यवस्था गरिने उल्लेख गरिएको हो । त्यसैगरी दरबार हाई स्कुललाई राष्ट्रिय स्तरको नमुना विद्यालयको रूपमा सञ्चालन गर्न आवश्यक प्रबन्ध गर्ने कुरा पनि उल्लेख गरिएको मेयर साहले बताए ।

    सामुदायिक विद्यालयहरूमा नियमित स्वास्थ्य परीक्षण गर्ने कुरा पनि नीति तथा कार्यक्रममा आएको छ । आवासीय विद्यालयहरूमा कम्तिमा एक जना चिकित्सक र सम्भावित विपद् जोखिम न्यूनीकरण लागि अग्नी नियन्त्रण उपकरण जडान गर्न आवश्यक प्रबन्ध मिलाइने मेयर साहले बताए ।

    नीति तथा कार्यक्रमको पूर्णपाठ :

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend