बागलुङ/ नेपाली कांग्रेस बागलुङको आठौं बैठकले बीपी स्मृति भवन निर्माण थाल्ने निर्णय गरेको छ । गत मंसिरमा निर्वाचित कार्यसमितिले भवन निर्माणकालागि जग्गा छनौट गरेको थियो । उक्त जग्गामा भवनसमेत निर्माण गरेर पार्टी तथा भातृ संगठनका कार्यालय सार्ने योजना अनुसार काम थाल्ने भएको हो ।
पार्टी सभापति जीतबहादुर शेरचनको अध्यक्षतामा मंगलवार बसेको बैठकले साउन मसान्तभित्रै उक्त जग्गा पार्टीको नाममा पास गरिसकेर काम थाल्ने निर्णय गरेको सचिव गण्डकी थापा अधिकारीले जानकारी दिइन् । भवन शिलान्यास तत्कालै हुने र निर्माणले पनि गतिलिन उनले बताइन् ।
भवन निर्माणकालागि हरेक सदस्य, पदाधिकारी र सर्वसाधारणबाट चन्दा संकलन समेत गरिने बताइएको छ । साथै बिभिन्न दाताले भवनकालागि जग्गा खरिददेखि भवन निर्माणमा सहयोग गर्ने बचनबद्धता जनाएकोले काम अगाडि बढ्ने उनले विश्वास व्यक्त गरिन् । अर्का सचिव हरिहर शर्माले पनि भवन निर्माणलाई तीब्रता दिने बताए । ‘हामीले वीपी स्मृति भवनका लागि जग्गा बैना गरिसकेको छौं, अब भवन बनाउने हो’, उनले भने, ‘तत्काल जग्गा पास र भवन शिलान्यासको काम अगाडि बढाउन पाटी पंक्ति एकबद्ध भएको छ ।’ बैठकले भवन निर्माणका लगि सहयोग जुटाउन सहयोगदाता सम्मान मापदण्डको ब्रोसर बनाउने पनि उनले बताए । आर्थिक संकलन अभियानका लागि पार्टीका नेताहरुलाई जिल्लाका ८५ वटै वडामा परिचालन गर्ने समेत निर्णय गरेको छ । बैठकले पार्टी सदस्यता अभियानलाई तिब्रता दिँदै आगामी निर्वाचनका लागि फोटोसहितको मतदाता नावामली दर्ता गराउने सच्याउने तथा ठाउँ परिवर्तन गर्न चाहाने मतदाताहरुलाई सहजीकरण गर्नका लागि पार्टी पंक्ति परिचालन गर्ने पनि निर्णय गरेको शर्माले बताए ।
पार्टीले निर्वाचित भएर आएपछिको आर्थिक हिसाबकिताब पनि सार्वजनिक गरेको उनले बताए । बैठकमा पूर्वपार्टी सभापति एवं गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल, नेपाली कांग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, पूर्वपार्टी सभापति हरिप्रसाद श्रेष्ठ, पार्टीका क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, जिल्ला समिति पदाधिकारी सदस्य र पालिका सभापतिहरुले पार्टीको अवस्थाको बारेमा रिर्पोटिङ गरेका थिए ।