पोखरा/ पोखरा–बागलुङ सडकखण्ड अन्तर्गत कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा हुँदै जाने मध्यपहाडी लोकमार्गको हेम्जा क्षेत्रलाई ‘भाइरल रोड’ का नामले पनि चिन्ने गरिन्छ ।
मध्यपहाडी लोकमार्गको काम सकेर सडकमा रङरोगन भयो, ट्राफिक सङ्केत जनाउने अनेक रेखा र चिह्न हेम्जाको सडकमा राखिएका छन् । त्यही सडकमा बसेर ‘टिकटक’ का लागि ‘भिडियो’ खिच्नेहरूका कारण सडकको नाम नै ‘भाइरल रोड’ बन्यो ।
भिडियो खिच्नेहरूका लागि उक्त सडक रङ्गीबिरङ्गी भए पनि ट्राफिक प्रहरीको लागि भने ‘भाइरल’ चिन्ताको विषय बनेको छ ।
पोखरा–बागलुङ सडक मध्यपहाडी लोकमार्गमा रूपान्तरण हुनुपूर्व पनि हेम्जा क्षेत्र अत्यधिक दुर्घटना हुने स्थलको रूपमा चिनिँदै आएको थियो । हेम्जाको समथर भूभागमा डोरी तन्काएजस्तो सीधा सडक पाएपछि चालकले एक्सिलेटर दबाएको थाहै पाउँदैनथे ।
सवारीको गति तीव्र भइसक्दा पनि चालकलाई सहजै लागेको हुन्थ्यो तर अचानक सडकमा केही देखा परे ब्रेक लगाउँदा सवारी रोकिने स्थिति हुँदैनथ्यो ।
हेम्जाको सडक अहिले ६ लेनको बनेको छ । सडकमा स्पष्ट रेखा र ट्राफिक सङ्केत अनि परसम्मको अवस्था वरैबाट देख्न सक्ने सीधा सडक भएपछि ‘भाइरल रोड’ मा चल्ने सवारीहरू पहिलेको तुलनामा अझ तीव्र गतिमा गुड्न थालेका छन् ।
केही वर्ष पहिलेसम्म केही घर रहेको हेम्जा अहिले करिब करिब बजारमा परिणत हुन लागेको छ। यही कारण सडकमा पैदल यात्री, सवारीसाधन र चौपायाको सङ्ख्या पनि बढ्दै गएको छ ।
दुर्घटनाको जोखिम बढ्दै गए पनि चालकहरूले त्यहाँ अनियन्त्रित गतिमा सवारी दौडाउने गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पनि हेम्जाको सडकमा विशेष निगरानी बढाएको छ ।
कार्यालय प्रमुख प्रकाश शाह ठकुरीका अनुसार उक्त सडकमा गत आर्थिक वर्षमा भएका दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो । सडकमा दुर्घटनाको सङ्ख्या बढ्दै गएको र चालकहरूले पनि तीव्र गतिमा सवारी हाँक्ने क्रम नघटेपछि ‘राडार गन’ सहितको ट्राफिक प्रहरीले छड्के जाँच शुरु गरेको हो ।
‘राडार गनमा गति नापेर हेर्दा प्रति घण्टा १ सय १५ किलोमिटरसम्मको गतिमा सवारीहरू कुदेको देखियो। यो स्पिडमा रहेका सवारीहरू चाहेको ठाउँमा कसरी रोकिन्छन् ? दुर्घटना बाहेकको विकल्प नहुने अवस्था आउन सक्छ,’ ठकुरीले भने, ‘गनमा रहेको सेन्सरमा परेको सवारीको गति सवारीमा जति छ गनमा पनि त्यति नै देखिन्छ । चालकले हामीलाई देखेको हुँदैन तर हामीले सवारीको गति थाहा पाइसकेका हुन्छौँ ।’
शुक्रबार गरिएको आधा घण्टाको छड्के जाँचमा ४० ओटा सवारीसाधनलाई कारबाही गरेर सम्झाइबुझाई पठाइएको उनको भनाई छ । नियन्त्रणमा लिइएकामध्ये अति तीव्र गतिमा रहेकाहरूलाई प्रति सवारी हजार रुपैयाँ जरिवाना गरिएको छ भने सामान्यभन्दा केही माथिको गतिमा रहेकाहरूलाई सम्झाएर छाडिएको छ ।
मध्यपहाडी लोकमार्ग ‘हाइवे’ भए पनि हेम्जा खण्डमा भने चालकले चाहेको गतिमा सवारी कुदाउन नपाइने ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक ठकुरी बताउँछन् । ‘भाइरल रोड’ रहेको हेम्जा क्षेत्रमा बस्ती बाक्लो भइसकेको र पदयात्रीको चाप पनि निकै बढीसकेका कारण ‘हाइवे’ को गतिमा सवारी गुडाउन नपाउने उनको भनाइ छ ।
हेम्जा क्षेत्र शुरु हुने घट्टेखोलादेखि नै बस्ती रहेका कारण त्यो सडकमा प्रति घण्टा ४० किलोमिटरभन्दा माथिको गतिमा सवारी गुडाएको पाइए ‘राडार गन’ सहित बसेको ट्राफिक प्रहरीले कारबाही गर्नेछ ।
‘राडार गन’ ले टाढै रहेको सवारीको गति मापन गर्ने भएकाले ट्राफिक प्रहरीलाई देखेपछि मात्रै गति कम गर्ने प्रवृत्तिको अन्त्य हुने र दुर्घटनाको सङ्ख्या बढ्दै गएको हेम्जाको ‘भाइरल रोड’ यात्राका लागि सुरक्षित हुने ट्राफिक प्रहरीको विश्वास छ ।