बागलुङ, २६ भदौ – बागलुङ जेसीजको सप्ताह व्यापी कार्यक्रम शुरु भएको छ । हरेक बर्षको नेतृत्वले गर्दै आएको क्रियाकलाप समावेश भएको सप्ताह शनिबारदेखि शुृरु भएको हो । अभियानको नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले शुभारम्भ गरे ।
सप्ताहको शुभारम्भ गर्दै श्रेष्ठले युवाको नेतृत्व र व्यक्तित्व विकासमा जेसीज महत्वपूर्ण भएको बताएका छन् । श्रेष्ठले युवालाई योजनाबद्ध काम गर्न, आफ्नो नेतृत्व विकास गर्न र अन्य संस्थामा समन्वय गर्न पनि जेसीजले सिकाएको बताए । श्रेष्ठ जेसीजका पूर्व अध्यक्ष समेत हुन् ।
शनिबारदेखि जेसीजले आफ्नो वार्षिक कार्यक्रमअन्र्तगत साताव्यापी लामो कार्यक्रम संचालन गर्न लागेको हो । उक्त कार्यक्रमको शुभारम्भको अवसरमा श्रेष्ठले युवालाई अझै सशक्त भएर सामाजिक क्षेत्रमा क्रियाशिल बन्न आग्रह गरेका थिए ।
बागलुङ जेसीज २०२२ का अध्यक्ष आनन्द रेग्मीको अध्यक्षता र गणेश महतोको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम अनुसार शनिबार युवा सम्मान कार्यक्रम समेत सम्पन्न भएको छ । आइतबार सत्यदेवी स्मृति स्लो बाइक रेश कार्यक्रम, सोमबार तनाब व्यवस्थापन तालिम संचालन हुनेछ ।

त्यस्तै मंगलबार खुला नृत्य प्रतियोगिता र बुधबार स्थापना दिवश र रक्तदान कार्यक्रम संचालन हुने बताइएको छ । बिहिबार फुटसल प्रतियोगिता र शुक्रबार प्रगती स्मृति वक्तृत्वकला र समापन समारोह सम्पन्न गर्ने रेग्मीले जानकारी दिए ।
जेसिज सप्ताहमा दुई युवा सम्मानित
बागलुङ जेसीजले प्रत्येक वर्ष गर्दै आएको युवा सम्मान कार्यक्रमबाट यस बर्ष बागलुङका दूई युवा सम्मानित भएका छन् । बागलुङ जेसीजले आयोजना गरेको जेसीज सप्ताहको पहिलो दिनको कार्यक्रम अन्तरगत समाजलाई केहि योगदान पु¥याएका दुई युवाहरुलाई सम्मान गरेको हो ।
युवा सम्मान कार्यक्रम अन्तरगत जेसीजले सानै उमेरमा पनि कार्यालय प्रमुखको रुपमा आफ्नो जिम्मेवारी सम्हाल्नु भएका यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापा र व्यवसायी सुनिता खड्कालाई सम्मान गरेको थियो ।
बानपा-११ रायडाँडा निवासी थापालाई निजामति कर्मचारीको तर्फबाट र बानपा-३ निवासी खड्कालाई महिला सफल व्यवसायीको तर्फबाट सम्मान गरिएको जेसीजका महासचिव गणेश महतोले जानकारी दिए ।
सो अवसरमा जेसीजले जेसीजमा लामो समय काम गरेर जनप्रतिनिधी भएका व्यक्तिहरुलाई पनि सम्मान गरेको थियो । जनप्रतिनिधी सम्मान अन्तरगत बागलुङ जेसीजका पुर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठ, म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, म्याग्दी जेसीजका पुर्व अध्यक्ष उत्तमकुमार कर्मचार्यलाई सम्मान गरेको थियो ।
त्यसैगरि म्याग्दी जेसीजका सदस्य भीम बराइली, पर्वत जेसीजका अच्युत तिवारी, सन्तोष कार्की र बिष्णु अर्याललाई सम्मान गरेको थियो । कार्यक्रमको सहजीकरण बागलुङ जेसीजका सदस्य ताराप्रसाद शर्माले गर्नु भएको थियो ।