११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

वर्षाले सडक अवरुद्ध, दसैं मनाउन आएका फर्किन पाएनन्


जनमञ्च संवाददाता
  • २१ असोज २०७९ , शुक्रबार

  • वर्षाले सडक अवरुद्ध, दसैं मनाउन आएका फर्किन पाएनन्

    बागलुङ, २१ असोज – तीन दिनदेखि परेको निरन्तर वर्षाको कारण बागलुङका ग्रामीण तथा मुख्य सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा दसैँ मनाउन गाउँ आएका मानिस बजार फर्किन पाएका छैनन् । निरन्तर भारी वर्षा हुँदा सडक खुलाउनसमेत समस्या भएको छ । वर्षाले जिल्लाका १० वटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    दसैँ मनाउन बुटवलदेखि निसीखोला आएकी माया घिमिरेले वर्षाका कारण सबै आफन्तजनको हातबाट टीका लगाउन नसकेको बताइन् । उनले आफ्ना आफन्त झिम्पा, बडाचौँर, थापागाउँलगायत गाउँमा रहेको र वर्षाले सडक बिग्रिँदा टीका थाप्नसमेत जान नसकेको गुनासो गरिन् ।

    ‘वर्षाले यसपालीको दसैँ राम्रोसँग मनाउन पाइएन, सबै आफन्तजनको हातबाट टीका लगाउन पनि सकिएन, दसैँ मनाउनकै लागि टाढाबाट आइयो, एउटा गाउँमा मात्रै आफन्त हुनुहुन्न, सबै ठाउँ पुग्ने बाटोघाटो सबै भत्किएछ’, घिमिरेले भनिन्, ‘अब बुटवल फर्किने समय पनि हुन लाग्यो, बजार झर्ने बाटो सबै बन्द भएछन्, फर्किन ढिला हुने भयो ।’

    दसैँ मनाएर पोखरा फर्किएका बडिगाड-१० का तुलबहादुर नेपाली सडक बिग्रिएपछि बाटोमै अलपत्र परेको बताए । उनले दसैँको भोलिपल्टै आउने भनेर काम गर्ने कम्पनीमा बिदा लिएर आएको थिएँ तर वर्षाले सडक बिग्रिँदा बीच बाटोमै रोकिनुपरेको पीडा सुनाए ।

    ‘काम गर्ने ठाउँमा दसैँको भोलिपल्टै हाजिर हुन्छु भनेर आएँ, वर्षाले सडक नै बन्द बनाएको छ, हिँडेर जाने सम्भावना पनि छैन, गाउँका बाटा त सबै पहिरोले बन्द थिए, यहाँसम्म त हिँडेरै झरेँ, यहाँबाट गाडीमा जाने भनेको यता पनि बाटो बन्द रैछ’, नेपालीले भने, ‘अब कसरी जाने ?, यो पानी नरोकिएसम्म सडक खुलाउन सकिन्न होला, धेरै ठाउँमा गएको रैछ पहिरो पनि ।’

    दसैँ मान्न निसीखोला आएका मिलन घर्ती पनि पानीका कारण तानसेन फर्किन पाएका छैनन् । तानसेनमा फर्निचरमा काम गर्दै आएका उनले दसैँ मान्नका लागि असोज १७ गते गाउँ आएको बताए । दसैँ मानाएर फर्किने गरी चार दिनको बिदा लिएर गाउँ आएको भन्दै सडक अवरुद्ध हुँदा फर्किन नसकेको उनको भनाइ थियो ।

    ‘पानी निकै ठूलो पर्‍यो, दुईतीन दिनदेखि परेको पानीले सडक सबै भत्किएका छन्, अलिकति सामान पनि लैजानु पर्ला भन्ने लागेको थियो, बिदा पनि थोरै दिनको लिएर आइयो, पानीले निकै दुःख दियो’, मिलनले भने, ‘सडक खुलाउन पनि समस्या छ, धेरै ठाउँमा पहिरो झरेको छ, यो पहिरो सफा गर्न पनि कम्तीमा पनि दुई दिन लाग्छ ।’

    निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले निरन्तर वर्षाका कारण सडक खुलाउन समस्या भएको बताए । उनले मुख्य र ग्रामीण सडकको दजनौँ स्थानमा पहिरो जाँदा अवरुद्ध सडक भएकाले आफूहरुले खुलाउनका लागि उपकरण प्रयोग गर्न लगाएको जानकारी गराए ।

    ‘दसैँ मनाएर फर्किनेलाई लक्ष्य गरी सडक खुलाउन थालेका छौँ, पानी परिरहेको हुँदा निकै समस्या भएको छ, सडक खुलाउन उपकरण प्रयोग भएका छन्’, अध्यक्ष घर्तीमगरले भने, ‘धेरै ठाउँमा पहिराले सडकमा क्षति पुर्‍याएको छ, सडक जतिसक्दो छिटो खुलाउने प्रयास गरिरहेका छौँ ।’

    वर्षाले पूर्व–पश्चिम मध्यपहाडी लोकमार्गको निसीखोला खण्डमा दर्जन बढी ठाउँमा सडक अवरुद्ध भएको छ । केही ठाउँमा गाडी चालकले पन्छाए पनि ठूलो पहिरो उपकरणको सहायताले सफा गर्नुपर्ने सम्बद्ध चालकको भनाइ थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend