बागलुङ/आसन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्यकालागि आइतवार दलहरुले उमेदवारी दर्ता गरेका छन् ।
आइतवार निर्वाचन अधिकृतको कार्यालय पुगेर दलका नेताहरुले उमेदवारी दर्ता गराए । बागलुङको क्षेत्र नं. १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले उमेदवारी दर्ता गरेका छन् । सत्ता गठबन्धनले केसीलाइ उमेदवार बनाएको थियो ।
मनोनयन पछि केसीले संविधानको रक्षा र राष्ट्रियताको संरक्षणकालागि उमेदवारी दर्ता गर्नु परेको बताए । यस अघि पटक पटक एमालेसँगको तालमेलमा निर्वाचन लडेको राजमोले यो पटक कांग्रेस रोजेको हो । केसीले पनि पहिलो पटक कांग्रेसको समर्थनमा निर्वाचन लड्दैछन् ।
केसीको क्षेत्रमा एमालेका निर्वतमान सांसद सूर्य पाठक उमेदवार छन् । गत निर्वाचनमा पाठकले कांंग्रेसकी चम्पा खड्कालाई पराजित गरेका छन् । क्षेत्र नंं १ कालागि राप्रपाका लक्ष्मी प्रसाद सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीकालागि खिमानन्द कंडेलले पनि उमेदवारी दिएका छन् । कांग्रेसका नेता कृष्ण शंकर श्रेष्ठ र चन्द्रबहादुर क्षेत्रीले स्वतन्त्र उमेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन क्षेत्र नं. १ को क प्रदेशमा कांग्रेसका दिपेन्द्रबहादुर थापा र एमालेका अध्यक्ष हिराबहादुर केसी उमेदवार बनेका छन् । थापा कांग्रेसका निर्वतमान सभापति हुन् । त्यस्तै राप्रपाका डिल्लीप्रसाद आचार्य, सामाजिक एकता पार्टीका भक्तबहादुर बिक, र दिपेन्द्र हमालको स्वतन्त्र उमेदवारी परेको छ ।
क्षेत्र नंं १ कै ख प्रदेशमा कांग्रेसका डिल्लीराम सुवेदी, एमालेका नवराज पौडेलको उमेदवारी परेको छ । यो क्षेत्रमा राप्रपाका गोबिन्द सापकोटा र मंगोल नेशनल अर्गनाइजेसनका सहबीर थापाले उमेदवारी दिएका छन् ।
क्षेत्र नंं २ मा शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले गठबन्धनबाट उमेदवारी दर्ता गराए । यो क्षेत्रमा एमालेकी मञ्जु शर्मा चालिसेले उमेदवारी दर्ता गरेकी छिन् । पौडेल अघिल्लो पटक यो क्षेत्रबाटै निर्वाचित थिए । राप्रपाका अञ्चल शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्री, मंगोल नेशनल अर्गनाइजेसनका गोबर्धन घर्ती मगरले उमेदवारी दिएकाछन् । नेकपा जनमुक्ती पार्टीका चित्रप्रसाद गुरुङले उमेदवारी दिए । स्वतन्त्र तर्फ तुलसीराम अर्याल,गणेशकुमार थापा र डिलबहादुर कार्कीले उमेदवारी दिएका छन् ।
क्षेत्र नं. २ को क प्रदेशमा कांग्रेस सभापति जितबहादुर शेरचन र स्वतन्त्र प्रकाश घर्तीले उमेदवारी दर्ता गराए । उनी एमालेको समर्थनमा लड्ने तयारीमा छन् । यहाँ राप्रपाका शंकर खरेल, स्वतन्त्रबाट भीमलाल पोखरेलको उमेदवारी परेको छ । पोखरेल राजमो सचिव हुन् ।
क्षेत्र नंं २ कै ख प्रदेशमा कांग्रेसका द्रोण कुँवर र एमालेका लक्ष्मण पुनले उमेदवारी दिएका छन् । राप्रपाबाट शान्ताकुमारी चन्द, जनता समाजवादी पार्टीबाट गंगाबहादुर घर्ती, मंगोल नेशनल अर्गनाइजेसनका तराबहादुर घर्तीले उमेदवारी दिए । स्वतन्त्र तर्फ दिपक थापा, नरबहादुर गुरुङ, दुर्गादेवी घर्ती, कर्मती पुन र टेकप्रसाद कामीले उमेदवारी दिएका हुन् ।
बागलुङ क्षेत्र नं. २ मा उमेद्वारी परेका मध्ये स्थानीय तह निर्वाचनमा उमेद्वार बनेर खर्च बिबरण नबुझाएकाले कालो सूचिमा नाम भएका अञ्चल शाही, शान्त कुमारी चन्द र शंकर खरेलको उमेद्वारी रद्ध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
टिकट नपाएपछि पार्टी छाडे
कांग्रेसका निर्वतमान केन्द्रीय सदस्य किरणराज पौडेलले क्षेत्र नंं २ को ख प्रदेशमा टिकट नपाएपछि पार्टी छाडेका छन् । उनले आइतवारै सभापति देउवालाई सम्बोधन गरेर पार्टीको साधारण सदस्य छाडेको पत्र लेखेका छन् । उनले चाहना राखेको स्थानमा कांग्रेसका युवा नेता डिल्लीराम सुवेदीले टिकट पाए । पौडेल नेविसंघको पूर्व महामन्त्री हुन् ।