२१ साउन २०८३ , बिहिबार

२१ साउन २०८३ , बिहिबार
  • २१ साउन २०८३ , बिहिबार
  • August 6 2026

बहिरा विद्यालयमा छात्रवृत्ति रकम सकिएपछि विद्यार्थी घटे


जनमञ्च संवाददाता
  • १ मंसिर २०७९ , बिहिबार

  • बहिरा विद्यालयमा छात्रवृत्ति रकम सकिएपछि विद्यार्थी घटे

    बागलुङ, १ मंसिर– दोलखाका निकेस मानन्धर धौलागिरि बहिरा विद्यालयमा तीन वर्षे कम्प्युटर इन्जिनियरिङ पढ्दैछन् । उनको छौठौं सेमेस्टरको पढाइ भर्खर शुरु भयो, तर उनी दशैअघि नै घर फर्केका छन् ।
    सिटिइभिटीबाट मान्यता प्राप्त कम्प्युटर इन्जिनियरिङको कक्षाका लागि सरकारले छात्रवृत्ति दिएको थियो । हरेक महिना प्रतिविद्यार्थी ४ हजार रुपैयाँ दिएकोले टाढाबाट आएर विद्यार्थीले डेरा लिएर पढ्न सकेका थिए । कोरोना संक्रमणका कारण समय लम्बिंदा उनीहरुको अन्तिम सेमेस्टर बल्ल शुरु भयो, तर छात्रवृत्ति आउन छाड्यो ।
    छात्रवृत्ति रकम नआएपछि मानन्धर जस्तै उनका धेरै साथीले कक्षा छाडेका छन् । उनीहरु घरमा गएर बसेका छन् । यता कक्षा रित्तो बन्न थालेको प्रधानाध्यापक रेशम श्रीषले बताए । ‘पैसा तिरेर डेरा बस्ने, फिस तिर्ने काम गर्न सक्दैनन्, त्यसैले धेरैले विद्यालय छाडेका छन्’ उनले भने, ‘अनिवार्य विद्यालयमा उपस्थित हुन सूचना जारी गरेको छु, तर कति आउने हुन् थाहा छैन ।’ विद्यालयले मंसिर १५ गतेभित्र सबै विद्यार्थीलाई हाजिर हुन सूचना प्रकाशित गरेको हो ।
    प्राप्त छात्रवृत्तिमा अभिभावकले थपेर सदरमुकाममा डेरामा बस्ने खाने व्यवस्था गरेका थिए । रकम आउन छाडेपछि खानबस्न समस्या भएर अभिभावकले छोराछोरी फिर्ता लगेका हुन् । कोरोना संक्रमणकालमा पढाइ बन्द भएकोले कोर्ष नसकिएको श्रीषले बताए । ‘अन्तिम सेमेस्टरको पढाई बल्ल शुृरु भएको छ, तर विद्यार्थी छैनन्’ उनले भने, ‘अभिभावकलाई फोन गरेर विद्यार्थी फर्काउन भनेको छु ।’ यती लामो समयसम्म पढाई सकेका अभिभावकले अन्तिम सेमेस्टर छाडेमा बालबालिकाको भविष्य अन्यौल बन्ने उनले बताए ।
    यो विद्यालयमा देशभरका बहिरा विद्यार्थी पढ्छन् । कम्प्युटर इन्जिनियरिङ पढ्न पनि देशभरबाट नाम निकालेर आएकाहरु छन् । एउटा कक्षामा ४० जनाको कोटा छ । तीमध्ये अन्तिम सेमेस्टरका एकादुईबाहेक सबै विद्यार्थी घर गएकोले मंसिर १५ गतेभित्र हाजिर हुन आउन बिद्यालयले सार्वजनिक सूचना जारी गरेको हो । उक्त सूचनापछि केही अभिभावकले चासो राखेर बिद्यालयमा सम्पर्क गरेका छन् । तर कतिपयलाई जानकारी समेत छैन ।
    ‘आर्थिक अवस्था कमजोर भएकोले छात्रवृत्तिमा पढ्न गएका थियौं, अहिले रकम नआएपछि समस्या भएको हो’ दाङकी दुर्गा शर्मा ओलीले भनिन्, ‘पढ्न नसकेपछि रोजगारीको खोजी गर्दैछौं ।’ उनीहरुले पढाइ नसक्दै काममा लाग्दा लामो समयको लगानी खेर जाने अभिभावकले बताए । कतिपय विद्यार्थीले काठमाण्डौँका होटलमा काम खोज्दै भौतारिएको बहिरा संघ बागलुङका कोषाध्यक्ष यादव रेग्मीले बताए ।
    धौलागिरि बहिरा विद्यालयमा ५ बर्ष अघिदेखि कम्प्युटर इन्जिनियरिङको पढाइ शुरु भएको थियो । यहाँबाट तीन वर्षे कोर्ष सकेर दुइ वटा समूह छुटिसकेको छ । अहिले पनि १ सय २० विद्यार्थी कम्प्युटर इन्जिनियरिङ पढाइमा छन् । त्यसबाहेक कक्षा १ देखि १० सम्म पनि देशभरका विद्यार्थी पढ्दैछन् । आर्थिक अवस्था कमजोर भएका परिवारका बहिरा बालबालिका यो विद्यालयमा पढ्छन् । पछि दोभासे चाहिने भएकोले विद्यालयले कुल बिद्यार्थीको १० प्रतिशत बालबालिका भने बिपन्न परिवारबाट सांगलाई पनि पढाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताए । विद्यार्थीको भबिष्यमाथी खेलवाड हुने गरी रकम नआएकोप्रति उनले सिटिइभिटी र नेपाल सरकारका निकायमा कुरा गर्ने बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend