९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सूर्य थापा: जसलाई जिताए, उनकै प्रतिस्पर्धी बनेर चुनाव जिते


रामप्रसाद आचार्य
  • १४ मंसिर २०७९ , बुधबार

  • सूर्य थापा: जसलाई जिताए, उनकै प्रतिस्पर्धी बनेर चुनाव जिते

    रुपन्देही, १४ मंसिर – नेकपा एमालेका उदीयमान नेता सूर्य थापा प्युठानबाट प्रतिनिधिसभामा निर्वाचित भएका छन् । उनी पहिलो प्रयासमै संघीय सांसद बन्न सफल भएका छन् । थापाले सत्ता गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय जनमोर्चा नेपालकी उपाध्यक्ष दुर्गा पौडेललाई पराजित गरेका हुन् । जनमोर्चाको विरासत तोडेर निर्वाचन जितेसँगै उनको चर्चा बढेको छ ।

    उनी पत्रकारिताबाट राजनीतिमा आएका हुन् । थापा एमाले पोलिटब्युरो सदस्य र प्युठान इन्चार्ज हुन् । रुखो बोली र छुद्र व्यवहारको कारण आलोचना खेप्दै आएका थापा मंसिर ४ गते भएको आमनिर्वाचनबाट जनअनुमोदित भएका छन् ।

    पार्टी महामन्त्री मोहनविक्रम सिंहकी श्रीमती भएकै कारण दुर्गा पौडेललाई मात्र अवसर दिइएको भन्दै जनमोर्चाभित्रको असन्तुिष्टको कडी समातेर थापाले आमचुनावमा जीत निकालेका छन् । उनले गठबन्धनका कारण असन्तुष्ट नेपाली कांग्रेसकै नेता तथा कार्यकर्ताहरुको मत आफ्नो पोल्टामा पार्नसके ।

    स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन धेरै अघि रहे पनि यो पटक मत ट्रान्सफर हुन सकेन । स्थानीय तहको नजिताअनुसार एमालेको ३९ हजार ८७७ मत रहेको थियो । कांग्रेसको २१ हजार ५६४, माओवादी केन्द्रको १७ हजार १६३, जनमोर्चाको १३ हजार ६१२, नेकपा एकीकृत समाजवादीको १ हजार ३२२ मत थियो । यो आधारमा एमाले करिब १४ हजारले पछाडि थियो । तर, आमनिर्वाचनमा थापा ५ हजार २ सय मतान्तरले जीत निकाल्न सफल भए ।

    अघिल्लो पटक वाम तालमेलबाट दुर्गा पौडेललाई जिताउन थापाले नै अगुवाइ गरेका थिए । तर, यसपटक उनै दुर्गाका प्रतिस्पर्धी बनेर जीत निकाल्न थापा सफल भएका छन् ।

    यस्तो छ थापाको राजनीतिक यात्रा

    प्युठानको झिमरुक गाउँपालिका सौतामारेमा जन्मिएका थापा अर्घाखाँचीबाट अनेरास्ववियुको राजनीति गरेका थिए । उनी अनेरास्ववियुबाट काठमाडौंको कैलाशकुट क्याम्पसमा स्ववियु सभापति चुनिएका थिए ।

    २०५१ सालपछि पत्रकारितामा सक्रिय थापाले एमालेनिकट विभिन्न पत्रिकामा काम गरे । रेडियो नेपालमा घटना र विचार कार्यक्रमसमेत चलाएका उनी २०५७ सालमा प्रेस चौतारीको केन्द्रीय सचिव, २०६२ मा नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य बनेका थिए ।

    २०६४ सालमा एमालेको प्रचार विभाग सचिवमा नियुक्तिपछि उनले पार्टीको मुखपत्र नवयुग मासिकको सम्पादन गरे । सो पत्रिकालाई उनले नयाँ योजनाका साथ संस्थागत गरेका थिए ।

    प्रचार विभागको उपप्रमुख र प्रचार सम्बद्ध संगठनको सहइन्चार्ज रहँदा उनले आफ्नो अगुवाइमा पत्रकार महासंघमा चौतारीका उम्मेदवारलाई जिताए । पार्टीको पर्यटन विभाग प्रमुखमा रहँदा त्यो सम्बद्ध क्षेत्रमा पार्टी निकटका उम्मेदवारहरुलाई जिताए । काठमाडौंमा ईश्वर पोखरेलको चुनावी नेतृत्व सम्हाल्दा उनलाई जिताए भने प्युठानमा वामदेव गौतमलाई उम्मेदवार बनाएर आफ्नै अगुवाइमा जिताए ।

    अघिल्लो पटक वाम तालमेलबाट दुर्गा पौडेललाई जिताउन थापाले नै अगुवाइ गरेका थिए । तर, यसपटक उनै दुर्गाका प्रतिस्पर्धी बनेर जीत निकाल्न थापा सफल भएका छन् ।

    थापा २०६१ सालमा भरतमोहन अधिकारी उपप्रधानमन्त्री हुँदा सञ्चार परामर्शदाता, २०६७ मा झलनाथ खनाल र २०७६ मा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार नियुक्त भएका थिए । २०७१ सालमा एमालेको केन्द्रीय सदस्य भएका उनी दशौं महाधिवेशनपछि पोलिटब्युरो सदस्य बनेका छन् । यसपछि उनले प्युठानको इन्चार्ज भएर भूगोलमा काम सुरु गरेका हुन् । जिल्लामा इन्चार्ज भएर काम थालेसँगै उनले बैशाखमा भएको स्थानीय तहमा पार्टीलाई मात्रै जिताएनन्, मंसिर ४ गते भएको आमनिर्वाचनबाट आफ्नो संघीय संसदको यात्रासमेत निश्चित गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend