बागलुङ, २३ मंसिर – अस्ट्रेलिया बस्ने युवाहरुले संकलन गरेको चन्दाबाट धौलागिरि अस्पतालमा सुविधासम्पन्न एम्बुलेन्स सेवा संचालनमा ल्याइएको छ । अस्पतालका लागि बागलुङ घर भई अस्ट्रेलिया बस्ने युवाहरुले संकलन गरेर पठाएको २८ लाख ५० हजार रकममा नगरपालिकाले ३२ लाख २ हजार र बाँकी रकम अस्पताल व्यवस्थापनले थपेर एम्बुलेन्स खरिद गरिएको हो ।
अस्पतालले गत वर्ष नै २८ लाखमा एम्बुलेन्स खरिद गर्न खोज्दा स्वास्थ्य मन्त्रालयको कार्यविधिले रोकेपछि रकम थप गरेर मात्रै एम्बुलेन्स किन्न सकिएको अस्पताल व्यवस्थापन समितिका सदस्य विदेशकुमार श्रेष्ठले बताए । चन्दाको पैसाबाट अस्पताल व्यवस्थापनले एम्बुलेन्स किन्न खोज्दा स्वास्थ्य मन्त्रालयको कार्यविधिले रोकेको थियो ।
फोरह्वीलर गाडीमात्रै एम्बुलेन्स बनाउन पाउने भन्ने सरकारी कार्यविधिका कारण अस्पतालमा आएको पैसा डेढ वर्षदेखि फ्रिज थियो । गाडी किन्दा ५९ लाख ८० हजार खर्च भएको अस्पतालका लेखा अधिकृत झलक शर्माले जानकारी दिए । अस्पतालबाट दैनिक १० जनासम्म पोखरा रिफर हुँदा बिरामीले ट्याक्सी खोजेर जानुपर्ने बाध्यता थियो ।
अस्पतालले खरिद गरेको एम्बुलेन्समा स्वास्थ्यकर्मी वा चिकित्सकसहित बसेर रिफर गरिएको अस्पतालमा लैजान सकिने व्यवस्था छ । एम्बुलेन्सभित्रै उपचार सेवा दिने व्यवस्था भएको एम्बुलेन्स सेवा शुक्रबारदेखि संचालनमा आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले बताए ।
अस्पतालमा दैनिक ३ सय बिरामी स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् । दैनिक दर्जनभन्दा बढी अपरेसनसमेत हुन्छन् । दैनिक औषतमा १० जनासम्म रिफर हुने गरेका छन् ।
गत वर्ष नै किन्न खोज्दा नपाएपछि अस्पतालबाट रिफर भएका बिरामी ट्याक्सी खोज्न बाध्य थिए । ‘साथीहरुले पठाएको रकम पुगेन, थपिदेउ भन्दा मन्त्रालयले मानेन,’ अस्पतालका पूर्वअध्यक्ष केवी रानामगरले भने, ‘हामीले पाएको सहयोग रकम पनि निल्नु न ओकल्नु बनेको थियो, बल्ल काम लाग्यो ।’ नगरपालिकाले रकम थप गरिदिएपछि मात्रै कार्यविधिले तोके अनुसारको एम्बुलेन्स आएको हो ।
बागलुङ सदरमुकामदेखि पोखरा वा काठमाडौंका लागि बिरामी रिफर गर्न उक्त एम्बुलेन्स उपयोगी भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. अमित ढुंगानाले बताए । एम्बुलेन्स अभावमा कोरोना संक्रमणको समयमा बिरामीको उपचारका लागि हेलिकोप्टरसमेत खोज्नु परेको थियो । नियमित हेलिकोप्टर ल्याउनुपरेको बाध्यता थाहा पाएर युवाहरुले रकम संकलन गरेर पठाएका थिए ।