बागलुङ, २७ पुस– बुबा हत्याको आरोपमा बागलुङको गलकोट नगरपालिका–८ का २२ वर्षीय अनिल सार्कीलाई १० वर्ष कैद सजाय भएको छ । आमा ४० वर्षीया कुमारी सार्कीसँग मिलेर आफ्नै ४० वर्षीय बुबा धनबहादुर सार्कीको हत्या गरेको आरोपमा आमाछोरालाई प्रहरीले २०७७ चैत ३ गते पक्राउ गरेको थियो ।
जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको २०७९ पुस ६ गतेको इजलासले श्रीमान्को हत्यामा संलग्नता नरहेको भन्दै कुमारीलाई सफाइ दिएको थियो । धनबहादुरको हत्या छोरा अनिलले गरेको ठहर गर्दै अदालतले सजाय निर्धारणको हो ।
धनबहादुरको मनासायपूर्वक हत्या गरिएको ठहर गर्दै जिल्ला न्यायाधीश दिवाकर भट्टको पुस २५ गतेको अन्तिम आदेशले अनिललाई कैदसँगै १ लाख रुपैयाँ जरिवाना फैसला गरेको जिल्ला अदालत बागलुङका स्रेस्तेदार सूर्यप्रसाद भण्डारीले जानकारी दिए ।
२०७७ चैत १ गते धनबहादुरलाई कुटपिट गरी घरमै लुकाएर राख्दा ३ गते मृत्यु भएको भन्दै धनबहादुरका दाजु जुठे सार्कीले बुहारी र भतिजविरुद्ध प्रहरीमा कर्तव्यज्यान कसुरमा मुद्दा दर्ता गरेका थिए ।