काठमाडौं, १ माघ– सरकारले पोखरामा भएको यती एयरको विमान दुर्घटनाको छानबिन तथा जाँच आयोग गठन गरेको छ । बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएको हो । उक्त आयोगलाई ४५ दिनको समय सीमा उपलब्ध गराइएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार सदस्यहरूमा हवाई विज्ञ अवकाश प्राप्त दीपक प्रकाश बाँस्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा छन् । सदस्य सचिवमा पर्यटन मन्त्रालयका बुद्धिसागर रहेका छन् । दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा अपनाउनुपर्ने विषयमा सुझावसहितको प्रतिवेदन बुझाउन आयोगलाई म्याण्डेट दिइएको मन्त्री पौडेलले बताए ।
यसैबीच, यती एयरलाइन्सको विमान दुर्घटना भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटना भएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए ।
विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए । दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।