काठमाडौं, १ माघ– सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा शोक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
‘मन्त्रिपरिषद बैठकले घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । भोलि माघ २ गते शोकपूर्ण घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ,’ उनले भने । पौडेलका अनुसार, घटनाबारे परिवारजन लगायतलाई जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय भएको छ ।
दुर्घटनाका कारण पहिचान गर्न छानबिन समिति पनि गठन गरिएको पौडेलले बताए । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा दुर्घटना जाँच आयोग गठन गरिएको र प्रतिवेदन पेश गर्न ४५ दिनको समय दिइएको उनले जानकारी दिए ।