म्याग्दी, ९ माघ– जिल्लाको मंगला गाउँपालिका वडा नं. २ काफलचौरमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।
जीप दुर्घटनामा परी घाईते मंगला गाउँपालिका वडा नं. १ की ६० वर्षिय फौमाया गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए ।
थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग १ ज ६९३८ नं. को बोलेरो जीप दुर्घटना हुँदा सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
ढकालका अनुसार घाइते मंगला–२ की ३४ वर्षीया सन्तु केसी, १० वर्षीया सिवानी कसी र पाँच वर्षीया रिवान केसीलाई थप उपचारका लागि पोखरा पठाइएको छ ।
मंगला–१ की १५ वर्षीया बबिना परियार उपचारपछि घर पठाइएको छ भने मंगला–२ की २२ वर्षीया विपना कार्की, मंगला–१ का ३८ वर्षीय तेजबहादुर गर्बुजा, मंगला–२ का ५० वर्षीय भूमिकला नेपालीको बेनी अस्पतालमा उपचार भइरहेको छ ।
ओरालो सडकमा जीप पल्टिएर दुर्घटना भएको थियो । जीप चालकलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको प्रहरी निरीक्षक ढकालले जानकारी दिए ।