फाइल तस्बिर
म्याग्दी, १० माघ– बेनी नगरपालिका वडा नं. १ उपल्लाचौरकी कल्पना थापामगरको घर आँगनमा पानीको धारा छ । खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी भने सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्नुपर्छ ।
कल्पनाजस्तै उपल्लाचौर र सालघारी टोलका धेरैजसो घरमा निजी धारा बनेको करिब एक वर्ष पुगे पनि पानी आपूर्ति भएको छैन । कालीगण्डकीको पानी तानेर घर–घरमा खानेपानी सुविधा पु¥याउने उद्देश्यले सुरु भएको रत्नेचौर लिफ्ट खानेपानी आयोजना निर्माणले गति लिन नसक्दा उपभोक्ता सार्वजनिक धारामा भर पर्नुपर्ने बाध्यता छ ।
रत्नेचौरमा २०३५ सालमा निर्माण भएको खानेपानी आयोजना जीर्ण संरचना र मुहान सुक्दै जाँदा उपल्लाचौर र सालघारीमा पर्याप्त पानी आपूर्ति हुनसकेको छैन । आयोजना निर्माणमा भएको ढिलाइले घर–घरका धाराबाट शुद्ध खानेपानी उपभोग गर्न पाउने आशा साँचेका नागरिक निराश बनेको स्थानीय कृष्ण बोगटीले बताए ।
दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सञ्चालित करिब सात करोडको खानेपानी आयोजनाले ठेक्का सम्झौता भएको ३१ महिनासम्म पनि पूर्णता पाएको छैन । बेनी नगरपालिका रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापा सम्बद्ध कार्यालय र निर्माण व्यवसायीको समझदारी नमिल्दा खानेपानी आयोजना निर्माणले निरन्तरता पाउन नसकेको बताउँछन् ।
खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दी र प्राकृतिक प्रदीप जुम्ली जेभीबीच २०७७ असार २४ गते २ करोड ७५ लाख ३६ हजार ५ सयमा ठेक्का सम्झौता भएको थियो । कूल ६ करोड ७६ लाख लागत अनुमान गरिएको आयोजनाको उपभोक्ता समितिले गर्नुपर्ने बाहेकका संरचना बनाउन ठेक्का लगाइएको हो ।
२०७९ असार २३ गतेसम्म मुहानमा इनार, मुख्य लाइन, संकलन, रिजर्भ र वितरण ट्याङ्की लगायतका संरचना निर्माण गर्ने सम्झौता थियो । सिमस्थित कालीगण्डकी नदी किनारबाट पानी तानेर २ सय ४३ घरधुरीमा निजी धारामार्फत खानेपानी वितरण गर्ने योजना छ ।