बागलुङ, १० मघ– २०७२ सालको भूकम्पपछि ग्रामीण क्षेत्रमा बन्ने घर, भवन लगायतका संरचनामा जस्तापाताको छानो हाल्ने प्रचलन बढेपछि स्लेटढुंगाको व्यापार घट्दै गएको छ । ढुंगाको माग घट्दै जानु र खानीमा सहज रूपमा स्लेटढुंगा नपाउँदा व्यापार घट्दै गएको हो ।
गाउँ गाउँमा सडक संजालको विस्तारसंगै सिमेन्टका पक्की घर निर्माण गर्ने प्रचलन बढेपछि स्लेटढुंगाको व्यापारसंगै ढुंगा नपाउँदा त्यसमा निर्भर मजदुरहरुको पेशासमेत संकट परेको बागलुङको जैमिनी नगरपालिका वडा नं. १० का ५५ वर्षीय गम्भीर विकले बताए ।
जैमिनी नगरपालिकाको जैदी हर्दियास्थित सरस्वती निमाविको जग्गामा स्थानीयले २०४४ देखि छाना छाउने ढुंगा निकाल्दै आएका छन् । ‘पहिले गाउँका युवाले खानीमै रोजीरोटी पाउँथे, अहिले ढुंगाको माग घट्यो’ अर्का मजदुर हिमबहादुर विकले भने ।
चलनचल्तीमा ढुंगा एक हातको १ सय १० रुपैयाँमा बिक्री हुन्छ । एक हातमा १८ इन्च चौडाइ र २३ देखि २५ इन्चसम्म लम्बाइ हुन्छ । मजदुरबाट १ सय १० रुपैयाँमा खरिद गरेर १ सय ३५ रुपैयाँ हातमा बेच्ने गरेको व्यापारी मनिकर्ण क्षेत्रीले बताए ।
‘ढुंगाको माग घटेपछि मजदुरहरू संकटमा परेका छन्’ क्षेत्रीले भने, ‘गाउँका घरमा सिमेन्ट र टिनका छाना टल्किन थाले, ढुंगाको प्रयोग कम छ ।’ भूकम्पपछि ढुंगाको छानो हालेका घर बढी जोखिमपूर्ण हुने डरले प्रयोगमा कमी भएको क्षेत्रीको बुझाई छ ।
खानीका कालिगड मात्रै होइन, ढुंगा बोक्ने मजदुर पनि मर्कामा परेका छन् । ‘दिनमा दुई÷तीन सय कमाउन पनि मुस्किल छ’ ढुवानी मजदुरका रूपमा काम गर्दै आउनुभएका भीमबहादुर श्रीसले भने, ‘ढुंगा उत्पादन कम हुँदा रोजगारी संकटमा परेको छ ।’