म्याग्दी, ४ फागुन– धौलागिरि हिमाललाई फेरो लगाउने चक्रिय पदमार्गलाई नयाँ गन्तव्यका रुपमा विकास गरिने भएको छ । संसारको सातौं अग्लो हिमाल धवलागिरि गाउँपालिकामा पर्छ ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जाली, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन मगर र ट्रेकिङ व्यवसायी एजेन्सीज एशोसियशन (टान)का पदाधिकारीको छलफलबाट धौलागिरि चक्रिय पदमार्गलाई नयाँ गन्तव्य बनाउने विषयमा पोखरामा छलफल भएको हो ।
टान गण्डकी प्रदेशका अध्यक्ष धर्म पन्थीले धौलागिरि चक्रिय पदमार्गलाई नयाँ गन्तव्य बनाउन छलफल गरिएको बताए । ‘अन्नपूर्ण चक्रिय पदमार्ग छोटिएपछि धौलागिरिलाई वैकल्पिक नयाँ गन्तव्यको रुपमा विकास गर्नुपर्ने आवश्यकता महसुस गरेर पालिका र प्रदेश सरकारसँग छलफल गरेका हौ’ पन्थीले भने ।
पर्यटनमन्त्री जुग्जालीले पर्यटकको चाहना र आवश्यकता अनुसार धौलागिरि, ढोरपाटन शिकार आधार, अन्नपूर्ण आधार शिविरलगायत नयाँ गन्तव्यमा पर्यटक भित्र्याउन पूर्वाधार विकासमा पालिका र संघीय सरकारसँग मिलेर काम गर्नुपर्ने बताए ।
सडकले छोटिएका पुराना पदमार्गको विकल्पमा नयाँ गन्तव्यको खोजी, विकास र प्रर्वद्धन गर्ने नीति प्रदेश सरकारले लिने उनको भनाई छ । म्याग्दीको दरवाङ, मुदी, बगर, दोभानहुँदै धवलागिरि आधारशिविर भएर मुस्ताङ निस्कने धौलागिरि चक्रिय पदमार्गको भ्रमण र हिमाल आरोहणका लागि आउने पर्यटकको संख्या न्यून छ ।