म्याग्दी, ६ फागुन– म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा शनिबार बिहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्री पर्वमा बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजनले पूजाआराधना गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
बेनी बजारदेखि तीन किलोमिटर उत्तर तथा पूर्वमा अवस्थित पवित्र कालीगण्डकी नदी किनारमाथि रहेको नौ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा फैलिएको गलेश्वरधाममा बिहानैदेखि म्याग्दीसहित विभिन्न जिल्लाबाट आएका भक्तजनले पूजाआजा गरेका छन् ।
शिवरात्री पर्वको अवसर पारेर गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योतिर्लिङ्गमा पूजाअर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाबाट श्रद्धालु भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिए ।
महाशिवरात्रीका दिन भक्तजनले शुद्ध भई ‘ॐ नमःशिवाय’मन्त्र जप्दै पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो तथा बेलपत्र चढाउने शास्त्रीय मान्यता रहिआएको छ । गलेश्वर मन्दिर परिसरमा दिनभरजसो शिवजीको पूजा आराधना गर्ने र रातको समयमा बत्ती बालेर जाग्राम बस्ने, भजनकीर्तन गर्ने, धुनी जगाउने तथा भगवान् शिवको प्रिय मानिने महाप्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको छ ।
महाशिवरात्री पर्वलाई भव्य र सभ्य रूपमा मनाउन र पूजा व्यवस्थापनका लागि विभिन्न २३ वटा उपसमितिमार्फत काम गरिएको कोषका अध्यक्ष ध्रुवप्रसाद रेग्मीले बताए ।