बागलुङ, ८ फागुन– बागलुङ नगरपालिका–१ बाङे्चौरस्थित बागलुङ संग्राहलय भवन निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ । बाह्र वर्षदेखि निर्माणाधीन संग्राहलयका संरचना जीर्ण भएका हुन् ।
रामरेखा सामुदायिक वन क्षेत्रमा निर्माण थालिएको उक्त भवनले पूरा आकार लिन नसकेको स्थानीयले गुनासो गरेका छन् । भवन निर्माणमा सम्बन्धित निकायले चासो नदिँदा संग्राहलय बनाउने काम अधुरै छ । तत्कालीन जिल्ला विकास समितिको आर्थिक सहयोगमा आदिवासी जनजाति संग्राहलय बनाउन पहल भएको हो ।
नेपाल आदिवासी जनजाती समन्वय समिति बागलुङको अगुवाइमा २०६७ असारमा निर्माण थालनी भएर दुई वर्षसम्मको बजेटले पहिलो तला ढलान गरिएको छ । एक तला ढलान भएको भवनमा तत्कालीन जिविसले २५ लाख लगानी गरेको थियो । भवनको स्वामित्व र स्रोतको विवादले निर्माण रोकिएको भवन निर्माण समितिका तत्कालीन अध्यक्ष गणेश थापाले बताए ।
‘मन्त्रिपरिषद्ले नियुक्ती गरेर पठाएको उपाध्यक्ष, राजनीतिक दल, जिल्ला समन्वय समितिका प्रमुखसहितको सर्वदलीय बैठकले आदिवासी जनजाति संग्राहलय बनाउने निर्णय गरेको हो’ थापाले भने,– ‘पछि नाममा विवाद भयो, हामीले आदिवासी जनजातीबाट निर्मित बागलुङ संग्राहलय भनेर राखिनुपर्ने माग राखेको थियौँ । नाममा विवाद र स्रोत जुटाउने कुरामा कोहीले जिम्मेवारी नलिँदा काम अद्धि बढेन ।’
स्वामित्व लिने कुरामा सबै अग्रसर बनेपनि स्रोत जुटाउन भने कोही अघि बढेको छैन । ‘संग्राहलय राज्यको सम्पत्ति हो, सबैले सहयोग गर्नुपर्छ’, थापाले भने ‘छुट्टै संस्था दर्ता गरेर नियमावली बनाएर भए पनि बनाउनुपर्छ ।’ तत्कालीन जिल्ला विकास समिति, नेपाल आदिवासी जनजाती समन्वय समिति र रामरेखा सामुदायिक वनको त्रिपक्षीय लगानीमा भवन बन्न लागेको थियो । तत्कालीन जिविसको ३४, वन उपभोक्ता समितिको ३३ र जनजाति जिल्ला समन्वय समितिको ३३ प्रतिशत स्वामित्व रहने सहमतिमा संग्राहलय निर्माण थालिएको थियोे ।
तत्कालीन जिविसको अधिकार क्षेत्र कटौती भएपछि भवनका लागि बजेट आउने बाटो पनि बन्द भएको बताइन्छ । करिब १२ आना जमीनमा रहेको निर्माणाधीन भवन झाडीले घेरिएको छ । संग्राहलयमा बागलुङको पहिचान झल्कने विभिन्न जाति, जनजातिको संस्कृतिलाई राखिने बताइएको छ ।