काठमाडौं, १५ फागुन– सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्नु नपर्ने फैसला गरेको छ । उनलाई विदेश जाने अनुमतिसमेत दिइएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।
यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो । सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।
जसअनुसार सन्दीप खेल समाप्त भएपछि बाटोको म्यादबाहेक १५ दिनभित्र अदालतमा उपस्थित भएर जानकारी गराउनुपर्ने छ । यस शर्तको उल्लंघन गरेको खण्डमा यो सुविधा फिर्ता लिइने जानकारी सन्दीपलाई गराउन पनि अदालतले आदेश दिएको छ ।अदालतले सन्दीपको रोक्का गरिएको राहदानी फुकुवा गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।