बागलुङ, १५ फागुन– बिद्युत सट भएर आगलागी हुँदा बागलुङको ताराखोला गाउँपालिकामा एक घर जलेर नष्ट भएको छ । ताराखोला गाउँपालिका–३ इदीका डम्बर बहादुर थापाको घरमा आईतबार राती आगलागी भएको हो ।
राती ९ बजेबाट सुरु भएको आगलागीमा घर जलेर नष्ट भएपछि मात्रै नियन्त्रणमा आएको थियो । थापाको परिवार नजिकै रहेको अर्को घरमा बस्ने भएकाले आगलागी भएको ढिलागरी जानकारी पाएका थिए । घरमा कोही पनि नरहेकाले मानविय क्षति हुनबाट जोगिएको इलाका प्रहरी कार्यालय ताराखोलाले जनाएको छ ।
घरमा भण्डारण गरी राखिएका खाद्यान्न, लत्ताकपडा सबै जलेर नष्ट भएको थापाले बताए । दुईतले घरमा थापा परिवारले पौराणिक महत्वका भाडावर्तन, बर्षा यामका लागि खाद्यान्न र लत्ताकपडा राख्दै आएका थिए । छिमेकीले समेत आगलागी भएको पत्तो नपाउँदा समयमै आगो नियन्त्रण गर्न नसकिएको थापाले गुनासो गरे ।