काठमाडौं, २५ फागुन– ओपनर आसिफ शेखको शतक र सन्दीप लामिछानेको ४ विकेट प्रेरित आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी(पीएनजी) विरुद्ध ५२ रनको कीर्तिमानी जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २९८ रनको विशाल लक्ष्य पछ्याएको पीएनजी ४७.१ ओभरमा अलआउट हुँदै २४५ रनमा सीमित भयो । जितसँगै नेपालले ३३ खेलमा १६ जित र १५ हारको नतिजासहित ३४ अंक जोडेको छ । शीर्ष तीनमा रहेर सोझै विश्वकप छनोट खेल्न नेपालले बाँकी तीनै खेलमा जित निकाल्नु पर्नेछ भने, एकदिवसीय मान्यता जोगाउन अब एक खेल जिते पर्याप्त हुनेछ ।
यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ५ बल बाँकी रहँदा अलआउट हुँदै २९७ रनको योगफल तयार पार्यो ।