बागलुङ, २६ फागुन– जिल्लाको बडिगाड गाउँपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ । भाडाको घरबाट प्रशासनिक काम गर्दै आएको गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको हो ।
गण्डकी प्रदेश सरकारको ५ करोड १८ लाख ५४ हजार रुपैयाँ अनुदानमा गाउँपालिकाले भवन निर्माण गरेको हो । तीनबर्ष अघिदेखि सुरु गरिएको भवन निर्माण सम्पन्न भएसँगै सेवा प्रवाह सुरु गरिएको उपाध्यक्ष भीमसेन वनले जानकारी दिए । ‘धार्मिक हिसाबले बुधबार शुभसाईत गरेका छौं, एकदुई दिनमा कार्यालयका सबै सामग्री नयाँ भवनमा सारेर काम सुरु हुन्छ’ वनले भने । गाउँपालिकाले यसअघि प्रशासनिक कामका लागि लिएको घरको मासिक ५० हजार रुपैयाँ भाडा तिथ्र्याे ।
प्रशासनिक भवनको भाडामा खर्च हुने रकम अब बिकासका काममा लगाउन पाईने उपाध्यक्ष वन बताउँछन् । गाउँपालिकाको आन्तरिक स्रोत कम रहेकाले पालिकालाई भाडा जुटाउनुपर्ने समस्या टरेको छ । गाउँपालिका भएपनि जिल्लाको ढोरपाटन र जैमिनी नगरपालिकाभन्दा बडिगाडमा जनसंख्या धेरै छ ।
गत असार मसान्तमा सक्नुपर्ने भएपनि नौ महिना ढिलागरी भवन पुरा भएको प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए । ठेकेदारले अझै हस्तान्तरण गरेर नसकेपनि पालिकाले भने नया भवनबाट सेवा दिन शुरु गरेको हो । भण्डारीका अनुसार भवन अपांगमैत्री सेवा प्रवाहका लागि पनि सहयोगी बन्ने छ ।
वडा नं. ५ ग्वालीचौरबासीले दिएको साँढे ९ रोपनी जमिनमा गाउँपालिकाको भवन बनेको हो । खार बजारबासीले यहाँ ४६ रोपनी जमिन सार्वजनिक कामका लागि दान दिएका थिए । उक्त जमिनमध्ये ३५ रोपनीमा नगर अस्पताल र क्याम्पससमेत बनाउने लक्ष रहेको गाउँपालिका उपाध्यक्ष वनले बताए । खार बजार क्षेत्रका ५० परिवार मिलेर गाउँमै पालिका भवनसहित १५ शैयाको अस्पताल र क्याम्पस बनाउन जग्गा निशुल्क दिएका हुन् । गाउँलेले दिएको जमिनको चलेको मुल्यअनुसार न्युनतम मूल्य १० करोड रुपैयाँ पर्छ ।