बागलुङ, २६ फागुन– जिल्लाको बरेङमा सुक्खा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । बरेङ गाउँपालिका वडा नं. २ हुग्दिशिर सक्नेरीमा पहिरोमा परेर निसीखोला गाउँपालिका वडा नं. ६ का ४२ वर्षीय शुकलाल विकको मृत्यु भएको हो ।
पेरिबाङ–बरेङ उर्लेनी मोटरबाटो बिस्तारका क्रममा काम गर्दै गर्दा माथिबाट एक्कासी झरेको सुक्खा पहिरोमा विकको ज्यान गएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो पौने १ बजेको समयमा पहिरोमा परेर गम्भीर घाइते भएका विकलाई उपचारका लागि सदरमुकाम बागलुङतर्फ ल्याउँदै गर्दा बाटोमै ज्यान गएको विकका आफन्त तुलबहादुर बुढाले बताए ।