पर्वत, २७ फागुन– जिल्लाको फलेवास नगरपालिका–९ का वडाध्यक्ष हितमान गुरुङले आफूले पाउने तलब सुविधाको सम्पूर्ण रकम स्थानीयलाई वितरण गरेका छन् । गत स्थानीय चुनावमा वडाध्यक्ष जितेपछि राज्यबाट पाउने सेवा सुविधा गरिब, असहाय, अशक्त र निम्न वर्गलाई उपलब्ध गराउने प्रतिबद्धता अनुसार बिहीबार वडाध्यक्ष गुरुङले रकम हस्तान्तरण गरेका हुन् ।
गुरुङले तलबबापतको एक लाख २४ हजार रुपैयाँ दीर्घरोगी र निम्न वर्गका २२ जनालाई न्यूनतम तीन हजारदेखि १० हजारसम्म वितरण गरेका हुन् । ‘मैले यसअघि गरेको प्रतिबद्धता अनुसार सबै तलब वडावासीमा खर्च गर्नेछु’ गुरुङले भने, ‘अबका दिनमा पनि राज्यबाट पाउने सबै खाले सुविधा वडाकै हितमा खर्च गर्नेछु ।’