बागलुङ, १ चैत्र– विश्व उपभोक्ता अधिकार दिवस बुधबार बागलुङमा पनि बिबिध कार्यक्रमका साथ मनाईएको छ । पर्यटन तथा घरेलु उद्योग कार्यालय बागलुङको आयोजना तथा तथा प्रशासन कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चको संयोजनमा दिवस मनाईएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले खाद्य अधिकार प्राप्तीको लागि उत्पादक र उपभोक्ता सबै सचेत बन्नुपर्ने बताएका थिए । उनीहरुले जनताका अधिकार सुरक्षित गर्नका लागि राज्य निरिह भएको टिप्पणी समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले खाद्य अधिकार सुरक्षित गर्नका लागि उपभोक्ता सचेत बन्नुपर्ने बताइन् । उत्पादक र उपभोक्ता दुबै सचेत रहनुपर्ने चर्चा गर्दै प्रजिअ श्रेष्ठले सबै सचेत हुन सकेमात्र अधिकार सुरक्षित हुने बताइन् । राज्यले व्यवस्था गरेका अधिकारको व्यवहारमा कार्यान्वयन हुनुपर्ने उनको भनाई थियो ।
सहायक प्रमुख जिल्ला अधिकारी गणेस पौडेल र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सौरभ श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता तथा नागरिक समाजका संयोजक काजिगाउले श्रेष्ठले अरुलाई गाली गरेर मात्र अधिकार सुुनिश्चीत नहुने भन्दै उपभोक्ताको हकहित बिपरिताका गतिविधि पाईएमा कानुनी रुपमा अगाडी बढ्नुपर्नेमा जोड दिए ।
सो अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, जिल्ला सहकारी सघंका अध्यक्ष हुमाकुमारी जिसी अञ्जु, उद्योग बाणिज्य सघंका अध्यक्ष नरेश कँडेल र नेपाल मानव अधिकार संगठनका अध्यक्ष लक्ष्मी जिसी कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम पर्यटन तथा घरेलु उद्योग कार्यालय बागलुङका प्रमुख गोमादेबी शर्मा रिजालको अध्यक्षता र राष्ट्रिय उपभोक्ता मञ्चका कोषाध्यक्ष युक्तजंङ्ग राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।