बागलुङ, ८ फागुन– आजदेखि नवरात्र सुरु भएको छ । चैतेदशैँसमेत भनिने यस पर्वमा दुर्गा भवानीको विशेष उपासना गरिन्छ । बडादशैँ जति भव्य रुपमा नमनाइए पनि चैतेदशैँमा बागलुङ कालिका मन्दिरमा भने विशेष पूजाआराधना हुने गरेको छ ।
असोजमा पर्ने नवरात्रमा जस्तै चैतको नवरात्रमा पनि बागलुङ कालिकाको पूजाआराधना र बलि दिइने गरिन्छ । चैतेदशैँका अवसरमा कालिका भगवती मन्दिरमा पूजाअर्चना गर्नाले मनोकामना पूरा हुने विश्वासका साथ हिन्दू धर्मावलम्बीहरु मन्दिरमा पुग्ने गर्छन् ।
गण्डकी प्रदेशकै मुख्य शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिर दर्शन गर्दा मनले आँटेका सबै कुरा पूरा हुन्छ भन्ने विश्वासका साथ मन्दिर दर्शनार्थी आउने गरेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
नवरात्रको समयमा हुने भिड र पूजा व्यवस्थापनका लागि गुठीका कर्मचारी परिचालन गरिने र सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरीको सहायता लिइने छ ।
चैतेदशैँको अवसर पारेर गुठीको आयोजनामा १३ गतेदेखि सुरु हुनेछ । मेला हेर्न र मन्दिरको दर्शन गर्न आउने गरी २० लाख पर्यटक बागलुङ भित्राउने लक्ष्य गुठीको छ । विगतमा चैत्राष्टमी मेला वस्तु विनिमयको केन्द्र पनि थियो । बागलुङमा उत्पादन भएका कृषि तथा हस्तकला लगायतका सामग्रीहरुमा मेलामा राख्ने गरिन्छ ।
लामो समयदेखि स्वतःस्फुर्त रुपमा चैतेदशैँको समयमा लाग्दै आएको मेला केही वर्षयता गुठीले औपचारिक कार्यक्रमको आयोजना गर्दै आएको छ । मेलाको अवसरमा लोकदोहोरी, भलिबल, राष्ट्रिय लोकभजन र छेलो फाल्ने प्रतियोगिताको आयोजना गरिएको छ ।