पर्वत, १४ चैत्र– जिल्लामा किशोर किशोरीमैत्री स्वास्थ्य सेवा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन सकेको छैन । गत वर्षदेखि पर्वतका १३ स्वास्थ्य संस्थाबाट सेवा प्रदान गर्नेगरी किशोर किशोरीमैत्री स्वास्थ्य सेवा कार्यक्रम अघि बढाइएको थियो ।
गंभीर समस्यामा परेका किशोर किशोरीलाई स्वस्थ्य सेवा परामर्शमार्फत समाधान गर्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएपनि दक्ष जनशक्ति, उचित व्यवस्थापन, गोपनीयता र सूचनाको अभावले कार्यक्रम प्रभावकारी हुन नसकेको हो ।
स्वास्थ्य संस्था र विद्यालयबीच उचित सहकार्य नहुँदा किशोर किशोरीमा मानसिक, लागुऔषध दुव्र्यसनी, सडक दुर्घटना र आत्महत्या जस्ता समस्या बढ्दै गएको स्वस्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा २० वर्षमुनिका आठ जनाले आत्महत्या गरेका छन् भने दुई जना लागुऔषधमा पक्राउ परेका छन् ।
त्यसैगरी, जिल्ला अस्पतालका अनुसार, २० वर्ष मुनिका २६ किशोरीले गर्भपतन सेवा लिएका छन् । किशोरीलाई घरपरिवारबाट समयमा नै उचित परामर्श सेवा दिनसके केही समस्या घट्न सक्ने स्वास्थ्य कार्यालयको भनाई छ ।
किशोर–किशोरीको भविष्यसँग जोडिएको स्वास्थ्य सेवामा सरोकारवाला संघसंस्थाले कार्यक्रमलाई प्रभावकारी बनाउन सके उनीहरुमा देखिने समस्या र संभावित दुर्घटना न्यूनीकरण हुने जिल्ला समन्वय समितिका संयोजक विष्णुराम विकले बताए ।