बागलुङ, १ बैशाख– बागलुङ नगरपालिका वडा नंं ९ का सरोकारवालाले ‘बिद्यार्थीलाई सरकारी बिद्यालयमा पढाऔं’ अभियान थालेका छन् । उनीहरुले आगामी शैक्षिक सत्रदेखि आफ्ना बालबालिका सामुदायिक बिद्यालयमा पढाउने घोषणा गरेका छन् ।
बिहिबार आयोजित वडा भेलाका सहभागीले सामुदायिक बिद्यालय बचाउन र गुणस्तर सुधारका लागि शिक्षकका बालबालिका आफ्नै बिद्यालयमा पढाउनुपर्ने निर्णय गरेका हुन् । पहिलो चरणमा शिक्षक र जनप्रतिनिधिका बालबालिकालाई आफ्नै सामुदायिक बिद्यालयमा पढाउने र क्रमशः सार्वजनिक पदमा बसेकाहरुका बालबालिकालाई पनि सामुदायिक बिद्यालयमा ल्याउने तयारी उनीहरुको छ ।
वडा अध्यक्ष राजु थापाले पहिला म र हामीबाटै शुरु गरेपछि सबैका बालबालिका सामुदायिक बिद्यालयमा पढाउन सकिने धारणा राखे । उनले बिद्यालयको भौतिक पूर्वाधार निर्माण, मर्मत र अन्य काम वडाले गर्ने भन्दै बिद्यालयमा बिद्यार्थी संख्या बढाउने र गुणस्तरीय शिक्षा दिने काममा शिक्षकले थालनी गर्नुपर्ने उनको धारणा थियो । दुइ साताअघि वडा शिक्षा समितिले यो निर्णय गरेर अभिभावक र सरोकारवालाको भेला गरिसकेको हो ।
तित्याङमा १० वटा सामुदायिक बिद्यालय छन् । बिहिबारको वडा भेलामा पुगेका उपप्रमुख राजु खड्काले शिक्षकले चाहेमा शिक्षाको गुणस्तर सुधार गर्न सक्ने भन्दै शिक्षकलाई तालिम र प्रविधि हस्तान्तरणमा नगरपालिकाले सहयोग गर्ने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले वडा शिक्षा समितिको निर्णयको स्वागत गर्दै अब नगरपालिकालाई पनि नैतिक बाध्यता परिसकेको भन्दै अब नगर स्तरमा पनि यस्तै निर्णय हुनुपर्ने धारणा राखे ।
वडा अध्यक्ष राजु थापाको अध्यक्षतामा बिहिबार भएको वडा भेलामा सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम, नगर शिक्षा समितिका सदस्य गोपाल कुमार शर्मा, सामुदायिक बिद्यालय संघ गण्डकी प्रदेशका अध्यक्ष टिकाराम खड्कासहित बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापकहरु र शिक्षक अभिभावक संघका पदाधिकारीले वडाको निर्णयको स्वागत गर्दै सबै सरकारी कर्मचारीलाई आफ्ना बालबालिका ल्याउने वातावरण बनाउन आग्रह गरेका थिए ।