बागलुङ, ६ बैशाख– बागलुङको काठेखोला गाउँपालिकाको एउटै वडामा दुई संग्राहलय निर्माण भइरहेका छन् । जनजातिको बाहुल्यता रहेको काठेखोला गाउँपालिका वडा नं. ४ तंग्राममा सांस्कृतिक र जनजाति संग्राहलय निर्माण भइरहेका हुन् ।
लोपोन्मुख विश्वभरिका मुख्य बाजा संग्रह गर्ने उद्देश्यले जिमाक संस्थाको अगुवाइमा जिमाक सांस्कृतिक संग्राहलय निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
गाउँपालिकाको ‘एक वडा एक गौरवको आयोजना’अन्तर्गत तंग्रामको चापोटमा पर्यटन तथा जनजाति संग्राहलय निर्माण भइरहेको छ । तंग्रामी जनजातिका पहिचानसंग जोडिएका भाषालिपी, भेषभूषा, बाजागाजा र संस्कृतिलाई संग्राहलयमा राखिने निर्माण उपभोक्ता समितिका अध्यक्ष रनबहादुर पुनले बताए ।
२०७५ सालदेखि निर्माण थालिएको ९ कोठे संग्राहलयमा अहिलेसम्म ५८ लाख खर्च भएको छ । क्रमगत योजनामा रहेको संग्राहलयको माथिल्लो तलामा ट्रससहित बहुउदेश्यीय हल बनाउन योजना रहेको पुनले सुनाए ।
यस्तै, तंग्राममै सामाजिक विकास कार्यालयमार्फत कार्यान्वयन भईरहेको जिमाक साँस्कृतिक संग्राहलय निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ ।
गण्डकी प्रदेश सरकारको बजेटबाट जिमाक संग्राहलय निर्माण थालिएको हो । संग्राहलय निर्माणमा हालसम्म एक करोड १० लाख खर्च भइसकेको छ । संग्राहलय निर्माणपछि पर्यटक आर्कषित गर्न सकिने गाउँपालिकाको अपेक्षा छ ।
संग्राहलयमा विश्वभरका प्रमुख बाजासँगै नेपालका लोकबाजा, पुर्खाको जीवनशैली, मुद्रा, भेषभूषा र भाषालिपीको संग्रह गरिने जिमाक गाउँमैत्री अक्षयकोषका संस्थापक संरक्षक हेमराज आश्रमले जानकारी दिए ।