बागलुङ, ७ बैशाख– सर्वोच्च अदालतको फैसला नआउँदै सडक विस्तार गर्न लागेको भन्दै बागलुङ नगरपालिका वडा नं. १ का स्थानीयले बिरोध जनाएका छन् ।
सडक डिभिजन कार्यालय बागलुङलाई निवेदन दिँदै स्थानीयले बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि उपलल्लाचौर माथिल्लो चोकसम्मको सडकमा नेपाल सरकारबाट हालसम्म कुनै किसिमको मुअब्जा र सुविधा नपाएको बिषयमा मुद्दा दायर भएकाले फैसला नआउँदासम्म काम नगर्न नगराउन माग गरेका हुन् ।
उनीहरुले सडक डिभिजन कार्यालय बागलुङलाई पत्र बुझाउँदै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई बोद्यार्थ दिएका छन् । आफुहरु विकास बिरोध नभएको र आफ्ना माग सम्बोधनका लागि अदालतमा मुद्दा चलिरहेकाले फैसला नआएसम्म काम गर्न नहुने मध्यपहाडी लोकमार्ग मापदण्ड सम्बन्धी दबाव समितिका संयोजक केवी राना मगरले बताए ।
रामरेखा क्षेत्रका प्रभावित ८९ जना पीडितले २०७६ चैतमा सर्वोच्च अदालतमा मुद्दा दिएकोले जनताको नैसर्गिक अधिकार र कानुनको बर्खिलाप हुने गरि काम नगर्न नगराउन निवेदन दिएको रानाले जानकारी दिए ।
यता, सडक डिभिजन कार्यालय बागलुङले बाङ्गेचौरदेखि बागलुङ नगरपालिका–१ को कार्यालयसम्म सडक साँघुरो र दुर्घटनाको दृष्टिकोणले जोखिमयुक्त रहेकाले मर्मत गर्न लागिएको जनाएको छ ।
सडकको बिषेश मर्मत कार्यका लागि टेवा पर्खाल तथा नाली निर्माणका लागि अति आवश्यक भएकाले बाङ्गेचौरदेखि बागलुङ नगरपालिका–१ को कार्यालयसम्म मात्र सडक मर्मत गर्न लागिएको डिभिजनको स्पष्ट पारेको छ ।