पर्वत, १३ बैशाख– मकै बालीमा अमेरिकन फौजी कीराको प्रकोप देखिएको छ । मौसम प्रतिकूलताका कारण यसको प्रकोप बढ्दै गएको हो ।
लामो खडेरीका कारण मकैका बोटमा शत्रु जीव ‘अमेरिकन फौजी कीरा’को प्रकोप देखिन थालेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । विभिन्न स्थानमा फौजी कीराको लार्भाले मकैको बोटको पात र गुभा खाएको पाइएको केन्द्रका प्रमुख मनिता थापाले बताइन् ।
‘यसवर्ष किराले मकैको बोट खान थालेको छ, गर्मी बढेकाले कीराको प्रकोप फैलिन सक्ने जोखिम छ’ थापाले भनिन्– ‘गतवर्ष मनसुन बढी सक्रिय भएका कारण यसको प्रकोप थिएन । लामो समयसम्म वर्षा नहुँदा खडेरी परेको बेला यसको प्रकोप बढ्छ ।’
ज्ञान केन्द्रले कुश्मा नगरपालिकाको कटुवाचौपारीमा संचालन गरेको आइपिएम कृषक पाठशालामा कृषकले प्रत्यक्ष रूपमा ‘फौजी कीरा’ले मकैको बोट खाएको देखिएको हो । कुश्माकै खुर्कोट, फलेवास, विहादी, महाशिला, मोदी र पैंयुका केही वडामा पनि फौजी कीराको प्रभाव देखिन थालेको कृषकले गुनासो गरेका छन् ।
केन्द्र प्रमुख थापाका अनुसार वयस्क कीराले मकै वा अन्य बालीको पात र गुभामा अण्डा पार्छ । करिब दुई हप्ता लार्भा अवस्थामा रहने फौजी कीराले सबैभन्दा बढी क्षति लार्भा अवस्थामा पु¥याउँछ । करिब एक हप्ताको वयस्क अवस्थामा उडेर टाढा–टाढासम्म पुगेर अन्डा पार्ने भएका कारण छोटो समयमा नै यसको प्रकोप फैलिने गर्छ ।
एक ठाउँमा फौजी किरा देखिनु भनेको धेरै ठाउँमा देखिनु भएकाले यदाकदा देखिँदा बित्तिकै यसको प्रकोपको भय हुने थापाको भनाई छ ।
फौजी किराको व्यवस्थापन गर्न खेतबारीमा नियमित अवलोकन गर्ने, बालीको बीच–बीचमा ‘डेस्मोडियम’ घाँस लगाउने, खेतबारीको छेउछाउमा ‘नेपियर’ घाँस लगाई कीरा आकर्षण गरी विषादी प्रयोग गरेर एकैपटक मार्नेलगायतका उपाय अपनाउन थापाको सुझाव छ ।