बागलुङ, २० बैशाख– विद्यार्थी कुटपिट गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । बागलुङ नगरपालिका–७ स्थित सरस्वती प्राथमिक विद्यालयको कक्षा ३ मा अध्यनरत ८ वर्षीय आविष्कार विकलाई कुटपिट गरेको आरोपमा शिक्षक केशवराज गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गत वैशाख १७ गते आइतबार विकलाई शिक्षक गौतमले कुटेको भन्दै पीडित पक्षले बागलुङ नगरपालिका–७ छरिखोला निवासी गौतमविरुद्ध १९ गते प्रहरीमा निवेदन दिएका थिए । पीडितको निवेदनपछि शिक्षकलाई नियन्त्रणमा लिएर दुवै पक्षबीच छलफल गराइएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए ।
शिक्षक गौतमले विद्यार्थीले पानी पिउँदा धारामा लगाइएको सकेट हराएको आरोप लगाउँदै कुटपिट गरेका थिए । कुटपिटबाट बालकको निधारमा चोट लागेको छ । वैशाख १६ गते शनिबार विद्यालयको धारामा पानी पिउँदा शिक्षक गौतमको घरतर्फ लैजाने पानीको पाइमा लगाउँदै आएको सकेट हराएको भन्दै आइतबार कक्षाकोठामै ती विद्यार्थीलाई कुट्दा टाउकोमा चोट लागेको पीडित पक्षको आरोप थियो ।
यस विषयमा बागलुङ नगरपालिकाको नगर शिक्षा शाखामा शिक्षक र पीडित पक्षबीच छलफल भएको थियो । शिक्षकले गल्ती स्वीकार गर्दै पीडित पक्षसँग माफी मागेको, क्षतिपूर्तिसँगै सम्पूर्ण उपचार खर्च व्यहोर्ने र गौतमलाई सो विद्यालयबाट अन्यत्र सरुवा गर्ने निर्णय भएपनि पीडित पक्षले अस्विकार गर्दै प्रहरीमा जाने निर्णय गरेको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए ।
पीडित पक्षको निवेदनपछि आरोपित शिक्षकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक केसीले बताए । बालकलाई वैशाख १८ गते बागलुङस्थित धौलागिरि अस्पतालमा उपचार गरिएको थियो ।