बागलुङ, २२ बैशाख– अर्ना जेसिज कप फुटबल प्रतियोगिताको उपाधि नेपाली सेनाको श्री मेयर गण घोडाबाँधेले जितेको छ । शुक्रबार बाङेचौर खेल मैदान सम्पन्न फाइनल खेलमा वीर गोर्खाली युवा क्लबलाई १–० गोलले पराजित गर्दै श्री मेयर गण विजेता बनेको हो ।
श्री मेयरको जितमा पिताम्बर घर्ति मगर नायक बने । पहिलो हाफको ३० औं मिनेटमा प्रकाश निरौलाको पासमा पिताम्बर घर्ति मगरले चेस गोल गरेका थिए । सेमीफाइनलमा चिल्ड्रेन स्पोर्टस् क्लबविरुद्व २–० गोलको नतिजा उल्टाउँदै ३–२ गोलको सनसनीपूर्ण जित निकालेको वीर गोर्खाली श्री मेयर गणसामु निरीह बन्यो ।
गोलरक्षक, डिफेन्स र मिडफिल्डमा अफ्रिकन खेलाडि उतारेको वीर गोर्खालीले फाइनल खेलमा कुनै जादु देखाउन सकेन । विजेता श्री मेयर गणले १ लाख ५० हजार र उपविजेता वीर गोर्खालीले ७५ हजार नगद, ट्रफी र मेडल प्राप्त गरेका छन् । फाइनल खेलमा मेन अफ द म्याचको उपाधि श्रीमेहरका पिताम्बर घर्तीमगर घोषित भएका थिए ।
प्रतियोगितामा ५ गोल गरेका चिल्डे«न लाइफ स्पोर्टस् क्लबका विङगर जोन ग्लोरीले हाई स्कोरर, श्री मेयर गणका विप्लव गुरुङले वेष्ट गोलरक्षक, विकास मगरले वेष्ट गोल, वीर गोर्खालीका सुशिल थापाले वेष्ट फरवार्ड, एलेक्सले वेष्ट मिडफिल्डर, जोन जुनियरले वेष्ट डिफेन्डर र कालीपुल युनाईटेड क्लब बेनीले फेयर प्लेको अवार्ड जितेका छन् ।






