बागलुङ, ३१ बैशाख– गलकोट नगरपालिका वडा नं. ११ रिघास्थित उदय रिघा बुद्ध विहारको उद्घाटन गरिएको छ । शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले बुद्व विहारको उद्घाटन गरेका हुन् ।
विहार उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले पर्यटकीय संभावना बोकेको गुम्बा क्षेत्रको विकास गर्न प्रदेश सरकारले प्राथमिकता दिने बताए । ‘बिहारको संरक्षण र पर्यटन प्रर्वद्वनमा स्थानीयले महत्वपूर्ण भूमिका खेल्नुपर्छ’ मुख्यमन्त्री पाण्डेले भने ।
संघ, प्रदेश, स्थानीय सरकार र रोजागरीको शिलशिलामा विदेशमा रहेका नेपालीबाट संकलन गरिएको ८० लाखबाट बिहार निर्माण गरिएको हो । विहार निर्माण समितिका अध्यक्ष शेरबहादुर घर्तीको पहलमा १२ वर्षअघि विहार निर्माण थालिएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्रबहादुर थापाले रिघालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताएका थिए । कार्यक्रममा भिक्षु महासंघका केन्द्रिय सदस्य भान्ते निराङ्करले उदय रिघा बुद्ध विहार भिक्षुलाई हस्तान्तरण गरेका थिए ।
