बागलुङ, १ जेठ– बागलुङ नगरपालिकाको रायडाँडा र जैमिनीको वडार बस्ती नै जोखिममा पर्नेगरी गतबर्ष झरेको पहिरो नियन्त्रणका लागि अध्ययन सुरु भएको छ ।
भीषण पहिरो नियन्त्रणका लागि स्थानीय र प्रदेश तहबाट कठिन हुने भएपछि उर्जा, जलस्रोत तथा सिंचाईं मन्त्रालय, जलस्रोत तथा सिंचाई बिभाग, जोखिमयुक्त पहिरो व्यवस्थान आयोजनाले पहिरो नियन्त्रणका लागि अध्ययन थालेको हो ।
पहिरो नियन्त्रणका लागि आवश्यक अध्ययन गरी प्रतिवेदन तयार पार्ने जिम्मेबारी पाएको एक्सप्लोलर जियोलोजिक कन्सल्टेन्सीले पहिरोको अध्ययन र बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम सुरु गरेको छ ।
पहिरोस्थलमा पुगेका कन्सल्टेन्सीका इञ्जिनियरहरुले स्थलगत अध्ययनको काम थालेको बानपा–११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । ‘पहिरो व्यवस्थापनका लागि अध्ययन थालिएको हो’ गौतमले भने ‘अध्ययनपछि आउने प्रतिवेदनका आधारमा तीन तहका सरकार मिलेर पहिरो व्यवस्थापनको योजना बनाउने हो ।’
पहिरोस्थलको भौगर्भिक नक्सा, इआरटी, सामाजिक अध्ययन प्रतिवेदन तयार गर्ने र टोपोग्राफिकल अध्ययन गरिने इञ्जिनियर विराज श्रेष्ठले बताए । ‘हामीले एक सातामा स्थलगत काम सक्छौं, जतिसक्दो छिटो प्रतिवेदन दिने काम हुनेछ’ श्रेष्ठले भने ‘पहिरोको दिगो व्यवस्थापन हुनेगरी डिपिआर बनाउने योजनामा छौं ।’
गत भदौ २१ गते खसेको पहिरोले स्थानीय ढालानाथ शर्मा, कुलराज शर्मा, नैनकली केसी र वीरबहादुर केसीका घरगोठ चर्केका छन्भने कुश्मीशेराको वडारका एक दर्जन बढी घर जोखिममा परेपछि स्थानीय त्रासमा बाँचिरहेका छन् ।