म्याग्दी, ५ जेठ– चक्रीय धौलागिरि पदयात्रामा पर्ने म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं. ४ मुदीको बगरा तातोपानी कुण्डमा पूर्वाधार अभाव भएको छ ।
म्याग्दी नदीको किनार नजिकै बग्ने तातोपानीको मूललाई संकलन गरिएको कुण्डमा स्नान गरी उपचार गराउनेको संख्या बढ्दै गएपनि पूर्वाधारको अभाव भएपछि समस्या भएको छ ।
धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गअन्तर्गत अन्तिम मानव बस्तीको रुपमा रहेको जेल्टुङ गाउँ नजिकै रहेको कुण्डमा स्नान गरेमा थकान मेटिने भएकाले पर्यटक पुग्ने गरेका छन् । कुण्डमा स्नान गरेमा नसा, हाडजोर्नी र छालारोग निको हुने विश्वास छ ।
पर्यटकको आगमन बढ्दै गएपछि उनीहरुलाई व्यवस्थापन गर्न समस्या भएको कुण्डका व्यवस्थापक कृष्णबहादुर बुढाथोकीले जानकारी दिए । उनका अनुसार, गत पुसदेखि कुण्डमा २ सय २० जनाभन्दा बढीले नियमित स्नान गरेका छन् ।
पछिल्लो समय कुण्डको प्रचारप्रसारले स्नान गरी उपचार गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ । पदमार्गबाट म्याग्दी नदी तरेर कुण्डमा जान पुलको अभावले सर्वसाधारणलाई सास्ती भएको छ । उनीहरु जोखिमपूर्ण आवतजावत गर्न बाध्य छन् ।
कुण्डमा आवतजावत गर्न नदीमा पुल नहुँदा साँघु बनाएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको राउण्ड धौलागिरि युवा क्लबका सचिव आस्मन पुर्जाले बताए । पुल निर्माणको लागि विभिन्न निकायमा माग गरेपनि सुनुवाइ नभएको उनको गुनासो छ ।
केही वर्षअघि धौलागिरि गाउँपालिकाले पर्यटक र बिरामीको सुविधाका लागि निर्माण गरेको आश्रयस्थलसमेत पहिरोले क्षति पु¥याएपछि अहिले यस कुण्डमा नियमितरुपमा स्नान गर्ने त्रिपाल टाँगेर बस्ने गरेको पुर्जाले बताए ।